


काठमाडौं-आगामी साताबाट नेपालमा फेरी वर्षाको सम्भावना देखिएको छ। मौसम विज्ञान विभागले मौसम मोडल तथा भू-उपग्रहबाट प्राप्त तस्बिर र तथ्याङ्कको विश्लेषणका आधारमा बंगालको खाडीमा न्यून चापीय क्षेत्र विकसित भएको र त्यसका कारण नेपालको मौसम समेत प्रभावित हुने जनाएको हो।


नेपाल मौसम विज्ञान विभागका अनुसार शुक्रबार बिहान ५:४५ बजे पूर्वमध्य तथा आसपासको दक्षिणपूर्वी बंगालको खाडीमा न्यून चापीय क्षेत्र (लो प्रेसर एरिया) विकसित भएको र उक्त न्यून चापीय क्षेत्र क्रमशः बलियो हुँदै जाने र कात्तिक ९ (अक्टोबर २६) गते सोमबारसम्म चक्रवाती आँधी मा विकसित हुने सम्भावना रहेको विभागले जनाएको छ।





विभागका अनुसार यो मौसम प्रणाली पश्चिम-उत्तरपश्चिम दिशातर्फ अघि बढ्दै भारतको उत्तर आन्ध्र प्रदेश तथा आसपासको दक्षिण ओडिशा तटबाट जमिनको भू-भागमा प्रवेश गर्ने सम्भावना छ।


बंगालको खाडीमा विकसित भइरहेको उक्त मौसम प्रणालीको प्रभाव नेपालमा पनि पर्न सक्ने देखिएको छ। विभागका अनुसार कात्तिक ११ (अक्टोबर २८) गते बुधबारदेखि कात्तिक १५ (नोभेम्बर १) गते आइतबारसम्म नेपालको मौसम प्रभावित हुन सक्ने सम्भावना छ।
यद्यपि, अहिले नै उक्त प्रणालीका कारण नेपालमा हुने वर्षाको मात्रा, जोखिमको स्तर तथा सम्भावित असरबारे यकिन गर्न सकिने अवस्था नरहेको विभागले स्पष्ट पारेको छ।
मौसम प्रणालीको विकास र यसको मार्गमा हुने परिवर्तनका आधारमा नेपालमा पर्ने प्रभावसमेत फरक पर्न सक्ने भएकाले अहिले नै वर्षा तथा अन्य मौसमी गतिविधिको ठोस आकलन गर्न कठिन रहेको विभागको भनाइ छ।
सम्भावित प्रतिकूल मौसमका कारण कृषि तथा पर्यटन क्षेत्रमा असर पर्न सक्ने भएकाले सम्बन्धित सबैलाई सतर्क रहन विभागले अनुरोध गरेको छ। विशेषगरी आगामी दिनमा मौसम प्रणाली थप विकसित भएमा वर्षा, हावाहुरी तथा अन्य मौसमी गतिविधिबारे थप विवरण सार्वजनिक गरिने विभागले जनाएको छ।
नेपाल मौसम विज्ञान विभागले बंगालको खाडीमा विकसित मौसम प्रणालीको निरन्तर अनुगमन गरिरहेको भन्दै आवश्यकताअनुसार थप सूचना तथा अद्यावधिक विवरण सार्वजनिक गर्दै जाने विभागले जानकारी दिएको छ।
विभागले मौसमसम्बन्धी आधिकारिक तथा अद्यावधिक जानकारीका लागि आफूले जारी गर्ने सूचना नियमित रूपमा हेर्न सर्वसाधारणलाई आग्रह गरेको छ।






