


भोजपुरबाट चतरा आउँदै गरेको जेटबोट सप्तकोशी नदीमा दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा एक जना घाइते भएका छन्।


जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख नारायण रञ्जितकारका अनुसार मृत्यु हुनेमा एक बालिका, एक महिला र एक पुरुष छन्। उनीहरूको पहिचान खुल्न सकेको छैन।






प्रहरीका अनुसार अरुण र दूधकोसीको त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन फेल भएपछि बग्ने क्रममा दुर्घटना भएको हो। जेटबोटमा १६ जना सवार रहेको बताइएको छ, तर १२ जनाले मात्रै टिकट काटेको खुलेको छ।

दुर्घटनापछि पाँच जना सकुशल घर फर्किएका छन् भने घाइतेको चतरा अस्पतालमा उपचार भइरहेको छ। जेटबोट चालक प्रहरी नियन्त्रणमा छन्।
मृतकको पहिचान खुलाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






