


धनगढी । धनगढीमा ११ महिनाअघि प्रेम विवाह गरेकी युवती मृत भेटिएको घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–६ मट्यारीमा शुक्रबार कविता जोशी मृत भेटिएकी थिइन् ।


सो घटनामा माइती पक्षले दिएको किटानी जाहेरीका आधारमा आत्माहत्या दुरुत्साहन मुद्दामा जोशीका श्रीमान सरोज पाठक र उनकी सासुआमा कमलादेवी पाठकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।





जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) योगेन्द्र तिमिल्सिनाले दुवै जनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको जानकारी दिए । उनकाअनुसार माइती पक्षले दिएको आत्माहत्या दुरुत्साहन मुद्दामा अदालतबाट म्याद थप गरि अनुसन्धान अघि बढाइएको छ ।


यता, माइती पक्षले भने शव समेत हेर्न नदिएर मृतकका घरकाले अन्त्येष्टि गरेको गुनासो गरेका छन् । मृतककी भाउजु तुलसी जोशीले नन्दको शव समेत हेर्न नपाएको बताइन् । उनले सेती प्रादेशिक अस्पतालमा नन्दका परिवारले आफ्नो समेत फर्जी हस्ताक्षर गरि शव बुझ्दै अन्त्येष्टि गरेको बताएकी छन् ।
उनका दाजु सत्यराज जोशीले पनि घटना भएपछि बझाङबाट धनगढी पुगेका भाउजुसहितलाई बहिनीको घरका व्यक्तिले शव हेर्न नदिएको बताएका छन् । उनले माइती पक्षलाई शव हेर्न नदिनुमा कतै बहिनीलाई कुटपिट गरेर हत्या गरिएको हो की भन्ने आशंका पनि व्यक्त गरेका छन् ।
प्रहरीले भने कविताको शव घरकै कोठामा झुन्डिएको अवस्थामा फेला पारेर माइती पक्ष समेतको सहमतिमा उठाइएको जनाएको छ । मृतकका माइती पक्षले पक्राउ परेका श्रीमान र सासुसहितले उनलाई यातना दिने गरेको समेत बताएका छन् । मृतकमाथि विभिन्न लालछना लगाएर कुटपिट गर्ने गरिएकोले उनीहरुलाई कडा कारवाही हुनुपर्ने माग गरिएको छ ।
बझाङको बुंगल नगरपालिका–४ तमतोली माइती घर भएकी जोशी र धनगढीका सरोज पाठकबीच गत वर्षको मंसिरमा मात्र प्रेम विवाह भएको थियो । पाठक कृषि विकास बैँकमा कार्यरत भएका बेला दुई जनाबीच प्रेम सम्बन्ध थियो । तर, विवाह गरेको वर्ष दिन नपुग्दै कविताले भने मृत्युको बाटो रोज्दै कहिल्यै नफर्किनेगरि हिडेकी छिन् ।






