


धनगढी । बङ्गालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ को प्रभावले बिहीबारदेखि देशका विभिन्न स्थानमा वर्षा र हिमपात हुने सम्भावना रहेको छ ।


मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसम पूर्वानुमान सार्वजनिक गर्दै सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा भारीदेखि धेरै भारी वर्षा र हिमपातको जोखिम रहेको जनाएको छ ।





महाशाखाका अनुसार कार्तिक १२ गते बिहीबारदेखि १४ गते शनिबारसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा पनि भारी वर्षा र हिमपातको सम्भावना छ ।


शुक्रबार देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान छ । शनिबार पनि वर्षा र हिमपातको जोखिम कायम रहने महाशाखाले जनाएको छ । मौसम प्रतिकूल हुने सम्भावना रहेकाले धानबाली भित्र्याउनेलगायत कृषि कार्य बिहीबारअघि नै सम्पन्न गर्न महाशाखाले अनुरोध गरेको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम रहेकाले पर्यटकलाई उक्त अवधिमा उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरिएको छ । त्यहाँ पुगिसकेका पर्यटकलाई सुरक्षित स्थानमा रहन पनि महाशाखाले अनुरोध गरेको छ ।
वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने, पहाडी सडकमा पहिरो जान सक्ने र चिसो बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन सर्वसाधारण तथा सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
आइतबार भने देशभर आंशिक बदली रहने र हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा वा हिमपात हुने सम्भावना छ । तराईका केही स्थानमा बिहान हुस्सु तथा कुहिरो लाग्न सक्ने महाशाखाले जनाएको छ ।






