


काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश गम्भीर अवस्थामा रहेको भन्दै पार्टीका नेता–कार्यकर्तालाई आन्दोलनका लागि तयार रहन निर्देशन दिएका छन् ।


बुधबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा मनोनीत केन्द्रीय सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा बोल्दै ओलीले देशको रक्षा र पार्टीको सफलता सुनिश्चित गर्न आन्दोलनको विकल्प नरहेको दाबी गरे । उनले तत्कालै वा तिहार तथा छठपछि जुनसुकै समयमा आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै मानसिक रूपमा तयारी अवस्थामा रहन आग्रह गरे ।






‘देश क्रिटिकल अवस्थामा छ । यस अवस्थाबाट हामीले देशलाई पार लगाउनुपर्नेछ । यसका लागि हामी आन्दोलनका लागि तयार हुनुपर्छ,’ ओलीले भने, ‘आन्दोलन गर्ने आँट गरेनौँ भने हामी सफल हुन सक्दैनौँ ।’

ओलीले सरकार फाँसीवादतर्फ अघि बढिरहेको आरोप लगाउँदै प्रहरीको कार्यशैलीप्रति असन्तुष्टि जनाए । प्रहरीले बर्दीबिना पक्राउ गर्न जाने र बलपूर्वक घरमा प्रवेश गर्ने गरेको उनको आरोप थियो ।
उनले आगामी स्थानीय र प्रदेश तहको निर्वाचनमा एमालेविहीन देश बनाउने योजनालाई असफल पार्ने गरी चुनावी तयारीमा जुट्न पनि नेता–कार्यकर्तालाई निर्देशन दिए ।






