


धनगढी । २८ पुष २०६७ सालको कुरा हो, कैलालीको बर्दगोरिया गाउँपालिका–१ का ४२ वर्षीय प्रेमबहादुर शाहीले घरायसी विवादमा ६५ वर्षीया आमा सुनरुपा शाहीको टाउकोमा ढुंगाले प्रहार गरेका थिए ।


छोराको ढुंगा प्रहारबाट गम्भीर घाइते भएकी सुनरुपाको भोलिपल्ट नेपालगञ्जस्थित नर्सिङ होममा उपचारका क्रममा मृत्यु भएको थियो। घटनापछि भने शाही फरार भएका थिए । त्यही बेला शाहीकी श्रीमती जमुनाले श्रीमानविरुद्ध सासु आमाको हत्या गरेको अभियोगमा कारवाहीको माग गर्दै उजुरी समेत दिएकी थिइन् तर, शाही भने अहिलेसम्म पक्राउ परेका थिएनन् ।






विगत १६ वर्षदेखि उनी भारतमै लुकेर बसेका थिए । तीन छोरी र एक छोराका बुवा समेत रहेका शाही कहिलेकही सुटुक्क घर पनि आउने गरेका थिए । अहिलेसम्म प्रहरीको आँखाबाट छल्दै आएका शाहीले प्रहरीले एउटा गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।

प्रहरी स्रोतकाअनुसार शाहीलाई भारतीय प्रहरीको सहयोगमा दिल्ली नजिकैको मेरठबाट नियन्त्रणमा लिइएको हो । उनी भारतमा बसेर जडिबुटीको व्यापार गर्दै आएका थिए । हिमाञ्चलबाट जडिबुटी संकलन गरेर ल्याएर गाउँ–गाउँ पुगेर बिक्रि गर्दै आएको पाइएको छ ।
प्रहरीले सोही गोप्य सूचना पाएको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको संयुक्त टोलीले उनलाई जडिबुटी बिक्रि गरिरहेकै अवस्थामा निन्त्रणमा लिएको थियो ।
पक्राउ परेका शाहीलाई कैलाली जिल्ला अदालतबाट पक्राउ मितिदेखि लागू हुने गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी हिरासतमा राखिएको छ। घटनाबारे थप इलाका प्रहरी कार्यालय सुखडले अनुसन्धान गरिरहेको छ ।






