


धनगढी । तिहार तथा छठ पर्वलाई लक्षित गरी प्रहरीले कैलालीका विभिन्न स्थानबाट पटाका लगायतका विस्फोटक पदार्थ बरामद गरी नष्ट गरेको छ।


जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चाडपर्व लक्षित सुरक्षा योजना तथा प्रहरी कारबाहीका क्रममा जिल्लाका विभिन्न स्थानबाट अन्दाजी ४ लाख २९ हजार ५०० रुपैयाँ बराबरका पटाका लगायतका विस्फोटक पदार्थ नियन्त्रणमा लिई नष्ट गरिएको हो।






जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका प्रहरी युनिटहरूले चाडपर्वका समयमा पटाका तथा अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण र प्रयोग नियन्त्रण गर्न निगरानी तथा चेकजाँचलाई तीव्रता दिएका छन्।

प्रहरीले चाडपर्वका समयमा पटाका तथा अन्य विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण एवं प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
त्यस्तै, आफ्नो छरछिमेकमा कसैले पटाका तथा विस्फोटक पदार्थ पड्काएको वा पड्काइरहेको पाइएमा तत्काल जिल्ला प्रहरी कार्यालय कैलालीको १०० वा १८५८४९०००० नम्बरमा जानकारी गराउन प्रहरीले अनुरोध गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले बुधबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत उक्त जानकारी दिइएको हो।






