


खोटाङ । खोटाङमा रेबिज संक्रमणका कारण एक महिलाको मृत्यु भएको छ । बिरालोले टोकेको तीन महिनापछि दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासे इजाराकी ५९ वर्षीया कृष्णमाया थापाको मृत्यु भएको हो ।


गाउँपालिकाका प्रवक्ता भुपेन्द्र बस्नेतका अनुसार थापालाई तीन महिनाअघि रातिको समयमा बिरालोले खुट्टामा टोकेको थियो । कात्तिक १६ गते स्वास्थ्यचौकी बतासेका एचए रमेश यादवले स्वास्थ्य परीक्षण गर्दा रेबिजको आशंका गरेपछि उनलाई अस्पताल रेफर गरिएको थियो ।






आफन्तले उनलाई विराटनगरस्थित विराट टिचिङ अस्पताल पुर्याएका थिए । त्यहाँ रेबिज संक्रमण पुष्टि भएपछि नोबेल मेडिकल कलेजमा रेफर गरिएको थियो । तर, नोबेलले उपचार सम्भव नहुने भन्दै भर्ना गर्न अस्वीकार गरेपछि घर फर्काउने क्रममा बाटोमै उनको मृत्यु भएको प्रवक्ता बस्नेतले बताए ।

घटनापछि बिरामीको सम्पर्कमा आएका तथा उपचार र अस्पताल लैजाने क्रममा संलग्न २८ स्थानीयलाई रेबिजविरुद्धको खोप लगाइएको छ । स्वास्थ्य परीक्षण गरेका एचए यादवले समेत खोप लगाएका छन् । संक्रमणको जोखिममा रहेका थप १० जनालाई भने खोप लगाउन बाँकी रहेको गाउँपालिकाले जनाएको छ ।
यसैबीच, आधारभूत अस्पताल ओख्रेमा दोस्रो डोजका लागि खोप अभाव भएको छ । खोप व्यवस्थापनका लागि गाउँपालिकाले प्रदेश सरकारसँग समन्वय गरिरहेको प्रवक्ता बस्नेतले बताए ।
प्रदेश सरकारबाट खोप उपलब्ध नभए गाउँपालिका आफैँले खरिद गरेर भए पनि व्यवस्थापन गर्ने अध्यक्ष लोकेन्द्र राईले प्रतिबद्धता जनाएका छन् ।






