


काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत लुम्बिनी लायन्सविरुद्ध जनकपुर बोल्ट्सले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा भर्खरै भएको टसमा जनकपुरका कप्तान हर्मित सिंहले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका हुन् । यससँगै लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ । यस सिजनको खेलमा लुम्बिनी अपराजित टोली हो ।



रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनीले ३ खेलबाट ५ अङ्क जोड्दै शीर्ष स्थानमा रहेको छ । आज जनकपुरलाई हराउँदै लुम्बिनी शीर्ष स्थान कायम राख्ने योजनामा छ । साविक विजेतासमेत रहेको लुम्बिनीले पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो ।





त्यस्तै, दोस्रो खेल वर्षाका कारण रद्द भएपछि चितवन राइनोजसँग अङ्क बाँडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्र्जसलाई ८ विकेटले हराएको थियो । यता पहिलो संस्करणको विजेता जनकपुरले पनि लुम्बिनीलाई हराउँदै प्रतियोगिताको शीर्ष स्थानमा उक्लने दाउमा छ । चार खेलबाट २ खेलमा जित तथा दुई खेलमा हार बेहोरेको जनकपुरले ४ अङ्क जोेडेको छ । जनकपुर अङ्क तालिकाको चौथो स्थानमा छ ।

काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो ।






