


मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानीगढीमा बिहीबार बिहान भएको विद्युतीय गाडी (इभी) दुर्घटनामा परी एकै गाउँका १० जनाको मृत्यु भएको छ। दुर्घटनामा पाँच जना घाइते भएका छन्।


छठ पर्व मनाउन काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको यात्रुबाहक इभी बिहान करिब ६ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानीगढीमा दुर्घटनामा परेको हो। मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल भिरमा खसेको थियो।





दुर्घटनामा मृत्यु हुनेमा पाँच पुरुष, तीन महिला र दुई बालिका रहेका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ।


दुर्घटनामा घाइते भएका पाँचै जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ का ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षमकुमार यादव र तीन वर्षीय सुदन यादवको पहिचान खुलेको छ। घाइते हुनेमा तीन पुरुष र दुई बालक रहेका छन्।
घाइते मुकेश यादवका अनुसार उनीहरू छठ पर्व मनाउन गाउँ फर्किँदै थिए। काठमाडौँको टीकाथलीबाट गाडी बुक गरेर सर्लाही जाने क्रममा दुर्घटना भएको उनले बताएका छन्। यादवका अनुसार उनीहरूले राति करिब २ बजे टीकाथलीबाट यात्रा सुरु गरेका थिए।
गाडीमा सवार अधिकांश यात्रु एउटै गाउँका छिमेकी तथा आफन्त रहेको पनि यादवले बताएका छन्। उनी आफ्नो परिवारका सदस्य भने गाडीमा नरहेको तर गाउँका छिमेकी र उनीहरूका आफन्तसँगै यात्रा गरिरहेको अवस्थामा दुर्घटनामा परेको उनको भनाइ छ।
दुर्घटनापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उद्धार तथा खोजतलासमा परिचालन गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीका अनुसार दुर्घटनास्थलमा खोजतलास तथा उद्धार कार्य जारी छ।
दुर्घटनास्थल इलाका प्रहरी कार्यालय भीमफेदीबाट करिब आठ किलोमिटर उत्तरमा पर्छ। भिरालो क्षेत्रमा गाडी खसेका कारण उद्धार तथा खोजतलासमा कठिनाइ भइरहेको छ।






