

जनकपुरधाम । घरेलु हतियार खुकुरी देखाउँदै अश्लील तथा डरत्रास फैलाउने अभिव्यक्तिसहित टिकटक भिडियो बनाएर सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा सिरहामा एक युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गोलबजार नगरपालिका–३ निवासी २१ वर्षीय महमद आशिक अन्सारी रहेका छन् । उनलाई इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
प्रहरी निमित्त प्रवक्ता नरेश लिम्बुका अनुसार अन्सारीले घरेलु हतियार खुकुरी प्रदर्शन गर्दै अश्लील भाषायुक्त अभिव्यक्ति र समाजमा आतंक तथा डरत्रास फैलाउने किसिमको सामग्रीसहित टिकटक भिडियो बनाएर सामाजिक शान्ति भंग गर्ने तथा समाजमा डरत्रास फैलाउने गतिविधिमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाईएको उनले बताए ।
यसैबीच, सामाजिक सञ्जालमा अश्लील, डरत्रास फैलाउने तथा हतियार प्रदर्शन गरी धाकधम्की र रंगदारी झल्किने सामग्री पोस्ट गर्ने अन्य व्यक्ति तथा समूहसमेत प्रहरीको निगरानीमा रहेकोले यस्ता गतिविधिमा संलग्न नहुन र सामाजिक सञ्जालको प्रयोग गर्दा सचेत रहन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ ।

