बझाङ अटो दुर्घटनामा शिक्षक महराको सुन्दर परिवार क्षणभरमै सखाप
श्रीमती, दुई छोराछोरी र भतिजी गुमाए, सिंगो गाउँ नै शोकमा डुब्यो



धनगढी । दशैँ–तिहार मनाएर डडेल्धुरा फर्किंदै गरेका एकै परिवारका चार सदस्यको बझाङमा अटो दुर्घटनामा मृत्यु भएको छ। दुर्घटनामा शिक्षक दीपक महराले श्रीमती, सात वर्षीय छोरा, दुई वर्षीया छोरी र १६ वर्षीया भतिजी गुमाएका छन्।
सोमबार बिहान बझाङको बुङ्गल नगरपालिका–१० टुमेडामा टुमेडाबाट बिथ्थडचिर गाउँपालिकाको बिथ्थड बजारतर्फ जाँदै गरेको सु.प.प्र. ०१–००१ ह ७९९८ नम्बरको अटोरिक्सा सडकबाट करिब ९०० मिटर तल भीरमा खसेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।
दुर्घटनामा बुङ्गल–१० की २६ वर्षीया राजमति महरा, उनका सात वर्षीय छोरा रियास, दुई वर्षीया छोरी रियासा र १६ वर्षीया भतिजी तारा महराको घटनास्थलमै मृत्यु भएको हो।
मृतक राजमतिका श्रीमान् दीपक स्थायी शिक्षक हुन्। उनी यसअघि डडेल्धुराको गन्यापधुरा गाउँपालिकास्थित गणेश माध्यमिक विद्यालयमा अध्यापन गराउँदै आएका थिए। उनका छोरा रियास र भतिजी तारा पनि सोही विद्यालयमा पढ्दै थिए।
गत साउनमा दीपकको सरुवा बझाङको बुङ्गल नगरपालिका–८ स्थित सत्य माध्यमिक विद्यालय, तोलीचौरमा भएको थियो। उनले यो शैक्षिक सत्रसम्म छोराछोरीलाई डडेल्धुरामै पढाउने र आगामी शैक्षिक सत्रदेखि आफूसँगै राखेर पढाउने योजना बनाएका थिए। तर, परिवारसँगै बस्ने उनको सपना पूरा नहुँदै दुर्घटनाले श्रीमती र छोराछोरीसहित चार सदस्य खोसेको छ।
वडाध्यक्ष प्रेम ओखेडाका अनुसार उनीहरू दशैँ–तिहारको बिदा मनाएर डडेल्धुरा फर्किंदै थिए। दुर्घटनामा अटोचालक बुङ्गल–११ का २५ वर्षीय टेकबहादुर पातली प्रहरी नियन्त्रणमा छन् भने अटोरिक्सामा सवार १३ वर्षीय विक्रम महरा सकुशल रहेका छन्।
दुर्घटनाको खबरले गाउँ नै शोकमा डुबेको छ। परिवारलाई आफूसँगै राखेर छोराछोरीको भविष्य बनाउने सपना देखेका दीपकका लागि यो दुर्घटना असह्य वियोग बनेको छ। अरूका बालबालिकाको भविष्य निर्माणमा जुटेका शिक्षकले आफ्नै सन्तानसँगै बिताउने सपना भने सधैँका लागि गुमाएका छन्।
