

कञ्चनपुर । कञ्चनपुरका दुई युवा उद्यमीले बाँकेको नेपालगन्जमा १ करोड रुपैयाँभन्दा बढी लगानीमा अत्याधुनिक फर्निचर उद्योग सञ्चालनमा ल्याएका छन्।
कृष्णपुर नगरपालिका–२ का जनकबहादुर सिंह र सन्तोषजंग सिंहले आधुनिक तथा टिकाउ फर्निचर स्थानीयस्तरमै उपलब्ध गराउने उद्देश्यले नेपालगन्जको बाइपास रोडस्थित कारकाँदो चोकमा ‘कैलाश डेकोर’ स्थापना गरेका हुन्।
उद्योगमा दक्ष कालीगढ र आधुनिक प्रविधिको प्रयोग गरी विभिन्न डिजाइनका इनडोर तथा आउटडोर फर्निचर उत्पादन भइरहेको सञ्चालक जनकबहादुर सिंहले जानकारी दिए। उनका अनुसार उच्च गुणस्तरको फलाम र डोरी प्रयोग गरी सोफा सेट, डाइनिङ टेबल, गार्डेन चेयर, स्विङ (पिङ) लगायतका फर्निचर तयार गरिँदै आएको छ।
ग्राहकको आवश्यकता, रुचि र उपलब्ध स्थानअनुसार कस्टमाइज्ड डिजाइनमा फर्निचर उत्पादन गर्नुका साथै अर्डरअनुसार डेलिभरीको व्यवस्था पनि गरिएको उनले बताए।
पछिल्लो समय पश्चिम नेपालका तारे होटल, रिसोर्ट, रेस्टुरेन्ट, क्याफे तथा आधुनिक घरहरूमा डिजाइनर फर्निचरको माग बढ्दै गएको अर्का सञ्चालक सन्तोषजंग सिंहले बताए। बढ्दो मागलाई लक्षित गर्दै उद्योग स्थापना गरिएको उनको भनाइ छ। यसले काठमाडौँ तथा भारतबाट महँगो मूल्यमा फर्निचर आयात गर्नुपर्ने बाध्यता कम गर्ने अपेक्षा गरिएको उनले बताए।
आधुनिक मेसिनरी र फिनिसिङ युनिटसहित सञ्चालनमा आएको उद्योगले आगामी दिनमा उत्पादन क्षमता बढाउनुका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रमुख सहरहरूमा आउटलेट विस्तार गर्ने योजना बनाएको छ।
सिंहद्वयले फर्निचर उद्योगसँगै कञ्चनपुरको कृष्णपुर नगरपालिका–२, बाणीमा ‘खप्तड पशुपन्छी तथा मत्स्यपालन केन्द्र’ र नेपालगन्जमा ‘होटल कैलाश इन’ समेत सञ्चालन गर्दै आएका छन्।

