

सिमरा । बाराको निजगढ नगरपालिका–११ रतनपुरमा सोमबार साँझ भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोल्हबी नगरपालिका–७ दोधर्पाका २४ वर्षीय राहुल सहनी रहेका छन् ।
रतनपुरबाट कोल्हबीतर्फ आउँदै गरेको म.प्र.०३–०४१ प ००४१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आफैं दुर्घटना हुँदा पछाडि सवार सहनी घाइते भएका थिए । उनको उपचारका क्रममा गण्डक अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।
छातिमा चोट लागेका उनलाई निजगढस्थित सामुदायिक अस्पतालबाट थप उपचारका लागि वीरगन्ज लगिएको थियो । अस्पताल पुगेको केही समयपछि उनको मृत्यु भएको हो ।
यता दुर्घटनामा मोटरसाइकल चालक सोही ठाउँका २३ वर्षीय जंगी सहनी घाइते भएका छन् । सामान्य घाइते सहनीलाई इलाका प्रहरी कार्यालय निजगढको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ ।

