

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा अनलाइनमार्फत सट्टेबाजी गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारतको राजस्थान राज्यस्थित श्रीगंगानगरका ३५ वर्षीय रोहित पथरियालाई पक्राउ गरेको हो । उनी काठमाडौं महानगरपालिका–१७ ठमेलमा बस्दै आएका थिए ।
कार्यालयका अनुसार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपीएलको तेस्रो संस्करणमा केही व्यक्तिले अनलाइनमार्फत सट्टेबाजी गर्ने तथा गराउने गरेको सूचनाका आधारमा अनुसन्धान अघि बढाइएको थियो ।
सोही क्रममा पक्राउ परेका पथरियाको साथबाट दुई थान मोबाइल बरामद गरिएको थियो । ती मोबाइल जाँच गर्दा उनले अनलाइन बेटिङ साइटमा लगइन गरी एनपीएलका विभिन्न क्रिकेट खेलमा पटक–पटक सट्टेबाजी गरेको खुलेको कार्यालयले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उनले सट्टेबाजीमार्फत नेपाली रुपैयाँ ८ लाख ७५ हजार ४० रुपैयाँ बराबरको कारोबार गरेको पाइएको छ ।
पथरियालाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत दफा १२५ ९जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने० कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले मंगलबार जनाएको छ ।

