

धनगढी । धनगढीमा स्थानीय खानाका परिकार तथा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले तीनदिने खाना उत्सव (फुड फेस्टिभल) आयोजना हुने भएको छ।
धनगढी उपमहानगरपालिका र होटल व्यवसायी संघ कैलालीको सहकार्यमा फुड फेस्टिभल सञ्चालन हुन लागेको हो। यसका लागि दुवै पक्षबीच सम्झौता भएको छ।
सम्झौताअनुसार उपमहानगरपालिकाले फुड फेस्टिभल आयोजनाका लागि होटल व्यवसायी संघ कैलालीलाई १० लाख रुपैयाँ अनुदान उपलब्ध गराउनेछ।
तीन दिनसम्म सञ्चालन हुने फेस्टिभलको मिति, समय र स्थान भने दुवै पक्षको आपसी समन्वयमा तय गरिने जनाइएको छ।
फुड फेस्टिभलमार्फत धनगढीका स्थानीय खानाका परिकारको पहिचान बढाउनुका साथै होटल तथा पर्यटन व्यवसायको प्रवर्द्धन गर्ने लक्ष्य राखिएको छ। कार्यक्रम व्यवस्थापनका लागि उपमहानगरपालिकाले आवश्यक समन्वय, सहजीकरण र अनुगमनसमेत गर्ने सम्झौतामा उल्लेख छ।

