

काठमाडौं । मलेसियामा वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकमाथि भएको ठगी प्रकरणमा पूर्वमुख्यसचिव एकनारायण अर्याल पनि जोडिएका छन् ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको अनुसन्धानका क्रममा अर्यालको समेत संलग्नता देखिएको भन्दै उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको उच्च स्रोतले जनाएको छ । उच्च स्रोतका अनुसार प्रकरणसँग सम्बन्धित कागजातमाथि अनुसन्धान अघि बढेपछि अर्याल सम्पर्कविहीन भएका छन् । उनी हाल फरार रहेको बताइएको छ ।
यस प्रकरणमा सीआईबीले बुधबार दुई पूर्वमन्त्रीसहित ६ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय, मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ छन् ।
यसअघि प्रहरीले कैलाश खड्का, रवीन्द्र केसी, प्रवीण तिवारी र रामपुकार तिवारीलाई पक्राउ गरेको थियो । सीआईबीका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र र विकास रानाभाटसहितको जाहेरीमाथि अनुसन्धान गर्दा उनीहरूको संलग्नता देखिएपछि पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो ।
पक्राउ परेकाहरूमाथि ठगी तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार नेपाल र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा संकलित रकममध्ये ८३ लाख ७० हजार ४३९ अमेरिकी डलर र ३७ लाख १७ हजार ९८० पाउन्ड स्टर्लिङ गरी कुल १ अर्ब ६९ करोड २ लाख २४ हजार २६ रुपैयाँ मलेसिया पठाउने निर्णय भएको थियो ।
सम्झौताको दायरा र कानुनी प्रक्रिया मिचेर अधिकार क्षेत्रभन्दा बाहिर गई विदेशी मुद्रा अपचलन गराउने निर्णयमा संलग्न रहेको प्रहरीको आरोप छ ।
श्रमिकमाथि संगठित रूपमा ठगी हुँदा मौन बसेको, कानुनी उपचारको प्रक्रिया अघि नबढाएको तथा गैरकानुनी रूपमा संकलित रकम मलेसिया पठाउने निर्णयमा संलग्न रहेको आरोपमा सम्बन्धित व्यक्तिहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

