

काठमाडौं । नेकपा एमालेका सांसद ऐनबहादुर महरले वर्तमान सरकार विचौलियाहरूले चलाइरहेको आरोप लगाएका छन् ।
अहिले सरकार प्रधानमन्त्रीले नभई प्रधानमन्त्रीको सचिवालयले चलाएको र सचिवालयका व्यक्तिहरू सबै विचौलियासँग जोडिएको उनको आरोप छ ।संविधान, कानुन र राज्यका संस्थागत संरचनाले नचिनेका व्यक्तिहरूले राज्य सञ्चालनमा हस्तक्षेप गरिरहेको उनको आरोप छ ।
प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूले पक्राउ परेका विचौलियाको अनुसन्धानमा हस्तक्षेप गरेको उनले बताए । एमाले राष्ट्रिय भेलामा पत्रकारहरूसँग कुरा गर्दै उनले वर्तमान सरकारले आरोप राज्यका संवैधानिक तथा कानुनी निकायलाई कमजोर बनाउने काम गरिरहेको आरोप पनि लगाए ।
‘संविधान, कानुनले नचिनेका मान्छेहरूले राज्यलाई आज नाङ्गो हस्तक्षेप गरेर बेवकुफ बनाइरहेका छन् । निकम्मा बनाइरहेका छन् यो गम्भीर कुरा हो, एक प्रकारको अराजकता हो । फासीवादी शैलीबाट सरकार अगाडि बढी रहेको छ,’ उनले भने ।
मन्त्रालयको संख्या घटाउने तर प्रधानमन्त्रीको सचिवालय विस्तार गर्ने सरकारी कार्यशैलीमाथि पनि प्रश्न उठाए ।
‘प्रधानमन्त्रीको मुख्य सल्लाहकारले विचौलियाको फोन प्रहरीकोमा जानु भन्दा अगाडि जान्छ, आफ्ना सबै कुराहरू हटाउँछ । विचौलियाको अनुसन्धान गर्दा प्रधानमन्त्रीका सचिवालयका मान्छे गएर हस्तक्षेप गर्छ । मन्त्रालय घटाउँछन्, सचिवालय बढाउँछन् । अनि सचिवालयका मान्छे के गर्छन् रु,’ उनको प्रश्न छ ।

