धनगढीमा खप्तड गोल्डकप पुस २१ देखि, विजेतालाई २१ लाख पुरस्कार

cp new add
Nisharg hospital
Dhangadhi

धनगढी । सुदूरपश्चिमको प्रतिष्ठित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण सुदूरपश्चिम खप्तड गोल्डकपको नवौँ संस्करण आगामी पुस २१ गतेदेखि आयोजना हुने भएको छ।

सुदूरपश्चिम–११ स्पोर्ट्स क्लब धनगढीको आयोजनामा माघ १ गतेसम्म धनगढी रंगशालामा प्रतियोगिता सञ्चालन हुनेछ।

क्लबका अध्यक्ष योगेन्द्र चन्दका अनुसार प्रतियोगिताको विजेताले २१ लाख १ रुपैयाँ र उपविजेताले ११ लाख १ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। यस्तै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल वा स्कुटर प्रदान गरिनेछ। विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याचलाई १० हजार रुपैयाँ पुरस्कार दिइनेछ।

क्लबका महासचिव प्रकाश शाहीले सुदूरपश्चिममा फुटबलको विकास र विस्तारसँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रदेशको पहिचान स्थापित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।

२०७३ सालदेखि आयोजना हुँदै आएको खप्तड गोल्डकपलाई यसपटक थप व्यवस्थित, भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्य आयोजकले राखेको छ। प्रतियोगिताले स्थानीय प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीसँग प्रतिस्पर्धा गर्ने अवसर प्रदान गर्नुका साथै खेल पर्यटन प्रवर्द्धन र युवामा फुटबलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको छ।

प्रतियोगिता सफल बनाउन आयोजकले प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र, उद्योगी–व्यवसायी, खेलकुद संघसंस्था तथा खेलप्रेमीलाई सहयोगका लागि आग्रह गरेको छ।

यसैबीच, खप्तड गोल्डकप स्थापनामा महत्वपूर्ण योगदान पुर्‍याएका क्लबका स्वर्गीय सुरेश हमाललाई आयोजकले स्मरण गरेको छ। हमालकै नेतृत्वमा सुदूरपश्चिममा पहिलोपटक गोल्डकप आयोजना भएको थियो।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...