

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई नेताबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त सहयोगको घोषणा गरेका हुन् ।
घोषित सहयोगमध्ये कति अनुदान र कति सहुलियतपूर्ण ऋण रहने भन्ने औपचारिक रूपमा खुलाइएको छैन । तर स्रोतका अनुसार भारतले १ खर्ब भारु ऋण र ५० अर्ब भारु अनुदान उपलब्ध गराउने तयारी गरेको छ ।
नेपालले भारतसँग १ खर्ब भारु ऋण र १ खर्ब भारु अनुदान गरी कुल २ खर्ब भारु सहयोग मागेको थियो । भारतले ऋणतर्फको प्रस्ताव स्वीकार गरे पनि अनुदान रकम भने आधा घटाएको स्रोतको भनाइ छ ।
नेपालले मागेको अनुदानमध्ये ५० अर्ब भारु रसुवा बाढीपछिको पुनर्निर्माण र थप ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको थियो । तर भारतले घोषणा गरेको सहयोग कुन परियोजनामा कति खर्च हुने भन्ने खुलाएको छैन ।
भारतले यसअघि पनि नेपालका लागि चारवटा लाइन अफ क्रेडिट (सहुलियतपूर्ण ऋण) घोषणा गरिसकेको छ । तर भारतीय वस्तु तथा सामग्रीको अनिवार्य प्रयोग गर्नुपर्ने व्यवस्थाका कारण तीमध्ये ठूलो रकम उपयोग हुन सकेको छैन ।
सन् २०१४ मा नेपाल भ्रमणका क्रममा मोदीले घोषणा गरेको १ अर्ब अमेरिकी डलर सहयोगमध्ये २५ करोड डलर अनुदान र ७५ करोड डलर ऋणका रूपमा छुट्याइएको थियो । अनुदान रकम भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ऋणतर्फको ठूलो हिस्सा उपयोग हुन सकेन ।
यसअघि उपयोग हुन नसकेको ९० करोड डलर बराबरको ऋण सुविधा नेपालले सन् २०२४ मा रद्द गरेको थियो । त्यसपछि नयाँ ऋण सुविधा र अनुदानका लागि नेपालले भारतसँग प्रस्ताव गरेको थियो ।

