

नेपालको दार्चुलास्थित महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्डस्थित धारचुला तहसिलको छारछुम जोड्ने ११० मिटर लामो पुलको उद्घाटन गरिएको हो ।
पुल निर्माणको सम्पूर्ण खर्च भारत सरकारले बेहोरेको हो । भारतीय निर्माण कम्पनी पीएन्डआर इन्फ्राप्रोजेक्ट लिमिटेड पञ्जाबले ३२ करोड ९८ लाख भारु लागतमा पुल निर्माण गरेको हो ।
तत्कालीन उद्योगमन्त्री दिलेन्द्रप्रसाद बडू र उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले २०८० असोज ३ गते पुलको शिलान्यास गरेका थिए ।
पुल सञ्चालनमा आएपछि दार्चुलासहित आसपासका पहाडी क्षेत्रका नागरिकलाई भारतसँग आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । पुलसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र भन्सार कार्यालय स्थापना गरी सञ्चालन गर्ने तयारीसमेत गरिएको छ ।
यस पुलले नेपाल–भारतबीचको सीमापार आवागमन सहज बनाउनुका साथै पर्यटन, व्यापार, आर्थिक गतिविधि र नागरिकस्तरको सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

