

अमेरिकाले भारतमाथि लगाउने घोषणा गरेको करका कारण भारतको करिब ४८ अर्ब अमेरिकी डलर बराबरको निर्यात प्रभावित हुन सक्ने देखिएको छ । यसबाट भारतमा पाँच लाख रोजगारीसमेत जोखिममा पर्न सक्ने भन्दै भारतीय उद्योगी व्यवसायीले चिन्ता व्यक्त गरेका छन् ।
भारतको उद्योग संगठन चेम्बर अफ ट्रेड एन्ड इन्डस्ट्री (सीटीआई) का अध्यक्ष बृजेश गोयलले अमेरिकी करका कारण भारतीय उद्योग तथा व्यापार क्षेत्रमा ठूलो असर पर्न सक्ने बताएका छन् ।
उनका अनुसार अमेरिकाले भारतसँग व्यापार सम्झौता भए भारतीय उत्पादनमा १७ प्रतिशत र सम्झौता नभए २५ प्रतिशत कर लगाउने बताएको छ । प्रस्तावित करका कारण भारतीय व्यापारीहरू असन्तुष्ट बनेका छन् ।
भारतले अमेरिकामा ठूलो परिमाणमा कपडा, औषधिजन्य सामग्री, विद्युतीय उपकरण तथा समुद्री खाद्य पदार्थ निर्यात गर्दै आएको छ । अमेरिकी कर लागू भए यी वस्तुको निर्यात प्रभावित हुन सक्ने सीटीआईको भनाइ छ ।
गोयलका अनुसार अमेरिकाबाट प्राप्त अर्डर र पठाइसकिएका सामानको अवस्थालाई लिएर समेत भारतीय व्यापारीहरू चिन्तित छन् । यस विषयमा सीटीआईले प्रधानमन्त्री नरेन्द्र मोदीलाई पत्र लेख्ने तयारी गरेको छ ।
संगठनले अमेरिकाले भारतीय उत्पादनमा कर लगाए भारतले पनि अमेरिकी वस्तुमा जवाफी कर लगाउनुपर्ने माग गरेको छ । भारतले जवाफी कर लगाए अमेरिकी सामान भारतीय बजारमा महँगो हुने र त्यसले अमेरिकी व्यापारीहरूलाई आफ्नै सरकारमाथि दबाब दिन प्रेरित गर्ने गोयलको भनाइ छ ।
यसैबीच, अमेरिकी कांग्रेसकी सदस्य ग्रेस मेङले आगामी वर्ष डेमोक्रेटिक पार्टीले अमेरिकी कांग्रेसमा नियन्त्रण हासिल गरेपछि उक्त कर हटाउन आवश्यक कदम चालिने बताएकी छन् ।

