

काठमाडौं । नेकपा (एमाले)राजधानी प्रदेश कमिटीले नेवार समुदायका ३५ भन्दा बढी थरलाई दलित समुदायमा सूचीकृत गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न माग गरेको छ।
कमिटीका अध्यक्ष नारायण सिलवालले जारी गरेको प्रेस विज्ञप्तिमा सरकारले २०८३ असोज ८ गते नेवार समुदायका विभिन्न ३५ भन्दा बढी थरलाई दलित सूचीमा समावेश गरी नेपाल राजपत्रको भाग ५, खण्ड ७६, संख्या ३६ मा प्रकाशित गरेको निर्णयप्रति समुदायबाट विरोध भइरहेको उल्लेख गरिएको छ। उक्त सूचीबाट आफ्नो थर हटाउन नेवार समुदायले माग गरिरहेको विज्ञप्तिमा जनाइएको छ।
नेवार समुदायको जातीय परम्परा, भाषा, मातृभाषा र संस्कृतिलाई अवमूल्यन गर्ने गरी सरकारले निर्णय गरेको भन्दै एमालेले गम्भीर आपत्ति जनाएको छ। विज्ञप्तिमार्फत उक्त निर्णयको भर्त्सनासमेत गरिएको छ।
एमाले राजधानी प्रदेश कमिटीले नेवार समुदायका संस्कृतिविद्, अगुवा तथा बुद्धिजीवीहरूको राय, सल्लाह र सुझावलाई ध्यानमा राख्न सरकारसँग आग्रह गरेको छ। सम्बन्धित समुदायसँग परामर्श गरी आम सहमतिका आधारमा मात्रै निर्णय लिनुपर्ने उसको माग छ।
कमिटीले विवादित निर्णय तत्काल खारेज गरी सूचीकरणमा आवश्यक परिमार्जन गर्नसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

