मंसिर १३ देखि २२ गतेसम्म फूलबारीमा छैटौँ फूलबारी महोत्सव आयोजना हुँदै

cp new add
Nisharg hospital
Dhangadhi

स्थानीय कला, संस्कृति, साहित्य, कृषि, पर्यटन, उद्योग तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले कैलालीको फूलबारीमा छैटौँ फूलबारी महोत्सव–२०८३ आयोजना हुने भएको छ। महोत्सव मंसिर १३ गतेदेखि २२ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

फूलबारी–११ स्पोर्ट्स क्लबको आयोजनामा हुन लागेको महोत्सव धनगढी उपमहानगरपालिका–१४, सी गाउँस्थित न्यू सागर युवा क्लबको खेल मैदानमा आयोजना हुनेछ। महोत्सवको उद्घाटन मंसिर १३ गते दिउँसो १ बजे गरिने कार्यक्रम तय भएको छ।

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समिति संयोजक महेश गोलेले एक महिनादेखिको आन्तरिक तयारी पूरा भएको जानकारी दिए। स्थानीय जनचाहना, कला, संस्कृति र आर्थिक गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सवलाई निरन्तरता दिँदै छैटौँ संस्करण आयोजना गर्न लागिएको उनले बताए।

उनका अनुसार महोत्सवले फूलबारी क्षेत्रको स्थानीय उत्पादन, कला, संस्कृति, कृषि, पर्यटन तथा व्यापार व्यवसायलाई थप परिचित गराउनुका साथै ग्रामीण क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। उनले महोत्सव सफल बनाउन राजनीतिक दल, जनप्रतिनिधि, संघसंस्था, उद्योगी, व्यवसायी, नागरिक समाज, पत्रकार तथा आम नागरिकको सहयोग र सहभागिताका लागि आग्रह गरे।

सांस्कृतिक संयोजक अक्कलबहादुर भण्डारीले महोत्सवमा स्थानीय कला, संस्कृति र प्रतिभालाई विशेष प्राथमिकता दिइने बताए। उनका अनुसार महोत्सवमा राष्ट्रिय कलाकारहरूको सांगीतिक तथा हास्यव्यङ्ग्य प्रस्तुति, विद्यालयस्तरीय खुला नृत्य प्रतियोगिता, साहित्यिक प्रतियोगिता, विभिन्न जातजातिका सांस्कृतिक झाँकी तथा आदिवासी जनजाति समुदायको रहनसहन, संस्कृति र भेषभूषा प्रदर्शन गरिनेछ।

महोत्सवमार्फत स्थानीय प्रतिभाले आफ्नो कला प्रस्तुत गर्ने अवसर पाउने र सांस्कृतिक पहिचानको संरक्षण तथा प्रवर्द्धनमा सहयोग पुग्ने उनले बताए।

महोत्सवका उपसंयोजक रमेश चौधरीले महोत्सवलाई स्थानीय उत्पादन, कृषि, घरेलु तथा साना उद्योग र व्यापार व्यवसायको प्रवर्द्धनसँग जोडिने बताए। महोत्सवमा औद्योगिक तथा व्यापारिक प्रतिष्ठान, उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी, कृषि उपजको प्रतिस्पर्धात्मक प्रदर्शनी, ताजा तरकारी तथा फलफूल प्रदर्शनी र दैनिक उपभोग्य वस्तुको बिक्री वितरण गरिने उनले जानकारी दिए।

यसले स्थानीय उत्पादक तथा व्यवसायीलाई बजार विस्तार र उपभोक्तासँग प्रत्यक्ष जोडिने अवसर प्रदान गर्ने उनको भनाइ छ।

महोत्सवमा बाल उद्यान, फुड फेस्टिभल, माइलो मेला तथा मनोरञ्जनका विभिन्न कार्यक्रमसमेत सञ्चालन गरिने आयोजकले जनाएको छ। महोत्सवमा ५० देखि ६० वटा स्टल रहनेछन् भने प्रवेश टिकट शुल्क १०० रुपैयाँ निर्धारण गरिएको छ।

आयोजकले महोत्सवमा करिब ५ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरेको छ। महोत्सवले स्थानीय उत्पादनको बजारीकरण, व्यापारिक गतिविधिको विस्तार, रोजगारी सिर्जना, पर्यटन प्रवर्द्धन तथा स्थानीय उद्यमीबीच व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुग्ने विश्वास लिएको छ।

महोत्सवको मुख्य प्रायोजक निशर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको छ भने मुख्य प्रवर्द्धक धनगढी उपमहानगरपालिका रहेको छ।

स्थानीय कला, संस्कृति, कृषि, पर्यटन र व्यापारलाई एउटै उत्सवमा जोड्दै आयोजना हुन लागेको छैटौँ फूलबारी महोत्सवले फूलबारी क्षेत्रको पहिचान, सम्भावना र आर्थिक गतिविधिलाई थप उचाइ दिने अपेक्षा गरिएको छ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...