सामाजिक सञ्जालबाट महिला तथा नाबालिकाको चरित्रहत्या गर्ने नौ जना पक्राउ

cp new add
Nisharg hospital
Dhangadhi

काठमाडौँ । सामाजिक सञ्जालको दुरुपयोग गरी महिला तथा नाबालिकालाई अनलाइन दुर्व्यवहार गर्ने, अश्लील तथा अपमानजनक सामग्री पठाउने, धम्की दिने र चरित्रहत्या गर्ने कार्यमा संलग्न नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालयको विशेष सक्रियतामा साइबर ब्युरो तथा विभिन्न प्रहरी कार्यालयको सहकार्यमा सञ्चालित ‘अपरेसन डिजिटल अनर’ अन्तर्गत पछिल्लो २४ घण्टामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा सामाजिक सञ्जालमा नक्कली खाता बनाएर नाबालिकाका आफन्त तथा साथीहरूलाई अश्लील तस्बिर तथा भिडियो पठाउनेदेखि पूर्वप्रेम सम्बन्ध टुटेपछि व्यक्तिगत तस्बिर तथा भिडियो सार्वजनिक गर्ने, अश्लील गालीगलौज गर्ने र ब्ल्याकमेलिङ गर्ने कार्यमा संलग्न व्यक्ति छन् ।

प्रहरीले मङ्सिर ९ गते छ जना र मङ्सिर १० गते तीन जनालाई पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपकराज अवस्थीले जानकारी दिए ।

मङ्सिर ९ गते हिजो पक्राउ पर्नेमा काठमाडौँ टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ छन् । उनले फेसबुकमा नक्कली खाता बनाएर पीडित नाबालिकाका आफन्त तथा साथीहरूलाई अश्लील तस्बिर तथा भिडियो पठाई चरित्रहत्या गरेको आरोप छ । उनलाई साइबर ब्युरोको टोलीले टोखाबाट पक्राउ गरेको हो ।

त्यसैगरी, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा सामाजिक सञ्जाल इमोमार्फत युवतीलाई अश्लील, अपमानजनक तथा अशोभनीय अभिव्यक्ति दिई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई सातदोबाटोबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । भारतको बिहार स्थायी घर भई हाल काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने ३२ वर्षीय महमद फेसल एजाज प्रेम सम्बन्ध टुटेपछि पीडितका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको आरोपमा न्युरोडबाट पक्राउ परेका छन् ।

इलाम देउमाई नगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ बस्ने ३७ वर्षीय विमल दर्जी खत्रीलाई पीडितका गोप्य तस्बिर तथा भिडियो नक्कली टिकटक खातामार्फत प्रसारण गरी चरित्रहत्या गरेको आरोपमा सिनामङ्गलबाट पक्राउ गरिएको छ ।

त्यस्तै, म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर फेसबुकमार्फत अश्लील गालीगलौज गरी चरित्रहत्या गरेको आरोपमा आफ्नै ठेगानाबाट पक्राउ परेका छन् । उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्कीलाई फेसबुकमा नक्कली खाता बनाई पीडितलाई अश्लील तस्बिर तथा भिडियो पठाउने, ब्ल्याकमेलिङ गर्ने र चरित्रहत्या गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

आज (मङ्सिर १० गते) पक्राउ पर्नेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ३२ वर्षीय चिरञ्जीवी सापकोटा छन् । उनलाई ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरी चरित्रहत्या गरेको आरोपमा शान्तिनगर, बानेश्वरबाट पक्राउ गरिएको हो ।

त्यसैगरी, पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो बनाएर सार्वजनिक गरिदिने धम्की दिँदै रकम माग गरेको आरोपमा १५ र १६ वर्षका दुई बालकलाई प्रहरीले पोखराबाट नियन्त्रणमा लिएको छ । उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार सामाजिक सञ्जाल तथा विद्युतीय सञ्चार माध्यमको बढ्दो प्रयोगसँगै महिला तथा बालबालिकालाई लक्षित गरी अनलाइन दुर्व्यवहार गर्ने, धम्की दिने, व्यक्तिगत तस्बिर तथा भिडियोको दुरुपयोग गर्ने र नक्कली खाता बनाई सामाजिक प्रतिष्ठामा आँच पुर्‍याउने घटना बढ्दै गएका छन् ।

प्रहरीले आगामी दिनमा पनि ‘अपरेसन डिजिटल अनर’ अभियानलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने जनाएको छ । विभिन्न माध्यमबाट प्राप्त उजुरी तथा सूचनाको अनुसन्धान र विश्लेषण गरी यस्ता कसुरमा संलग्न व्यक्तिको पहिचान गरेर कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यस्ता दुर्व्यवहार, धम्की, चरित्रहत्या वा अन्य साइबर अपराधबाट पीडित भएकालाई नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरी साइबर ब्युरोमा उजुरी तथा सूचना दिन प्रहरीले अनुरोध गरेको छ ।

 

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...