साउदीमा हवाई आक्रमणमा एक नेपालीको मृत्यु, तीन घाइते

cp new add
Nisharg hospital
Dhangadhi
काठमाडौं । साउदी अरबमा भएको हवाई आक्रमणका क्रममा मिसाइल तथा ड्रोनका टुक्रा लागेर एक नेपाली कामदारको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

गत मंगलबार भएको आक्रमणमा घाइते भएका नेपालीको उपचारका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । उनका अनुसार मृतकको शरीरको ६८ प्रतिशत भाग जलेको थियो ।

मन्त्रालयका अनुसार साउदीमा हुथी विद्रोहीले प्रहार गरेका मिसाइल तथा ड्रोनलाई हवाई रक्षा प्रणालीले आकाशमै रोक्ने प्रयास गर्दा उछिट्टिएका टुक्राबाट नेपाली कामदार प्रभावित भएका हुन् । घटनामा दुई जना गम्भीर घाइते छन् भने एक जना सामान्य उपचारपछि घर फर्किएका छन् ।

घाइतेको उपचार र मृतकको शव नेपाल ल्याउने प्रक्रिया साउदीस्थित नेपाली दूतावासले अघि बढाएको छ । दूतावासले त्यहाँ रहेका नेपालीलाई सचेत रहन आग्रह गरेको छ ।

यस घटनाप्रति नेपाल सरकारले दुःख व्यक्त गर्दै आक्रमणको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले मृतकप्रति श्रद्धाञ्जली र परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । नागरिक तथा सार्वजनिक पूर्वाधारलाई निशाना नबनाउन र द्वन्द्वको समाधान शान्तिपूर्ण माध्यमबाट खोज्न नेपालले सबै पक्षलाई आग्रह गरेको छ ।

यसैबीच, साउदी नेतृत्वको सैन्य गठबन्धनले नागरिक तथा सार्वजनिक पूर्वाधारमाथि हुने आक्रमणको कडा सैन्य जवाफ दिने चेतावनी दिएको छ । हुथी विद्रोहीले साउदीका तेल प्रशोधन केन्द्र तथा बन्दरगाहलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेका छन् । आक्रमणका कारण जजानस्थित तेल प्रशोधन केन्द्रमा आगलागी हुनुका साथै केही समय सञ्चालनसमेत प्रभावित भएको थियो ।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...