

संयुक्त राष्ट्रसंघको पछिल्लो प्रतिवेदनअनुसार गाजाको ६७ प्रतिशत जनसंख्या भोकमरीको संकटपूर्ण वा त्योभन्दा खराब अवस्थामा छ ।
एसोसिएटेड प्रेस (एपी) का अनुसार गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि मानवीय सहायता उपलब्धतामा केही सुधार आएको छ । त्यसका आधारमा गाजालाई भोकमरीको जोखिमसम्बन्धी प्रतिवेदनमा एक तह तल झारिएको भए पनि यसलाई नाजुक उपलब्धिका रूपमा व्याख्या गरिएको छ ।
प्रतिवेदनले गाजामा मानवीय आवश्यकता अझै उच्च रहेको उल्लेख गरेको छ ।
यस्तै, इजरायलको कब्जामा रहेको पश्चिम किनारमा समेत खाद्य असुरक्षा थप बढ्न सक्ने चेतावनी दिइएको छ । बढ्दो हिंसा, कमजोर आर्थिक अवस्था र मानवीय सहायता घट्दै जानुले त्यहाँ खाद्य संकट गहिरिन सक्ने प्रतिवेदनमा उल्लेख छ ।
प्यालेस्टिनीमाथि इजरायली बस्तीका बासिन्दाबाट भइरहेका हिंसात्मक आक्रमणले पनि मानवीय अवस्था थप जटिल बनाएको जनाइएको छ ।

