

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) विजेता सुदूरपश्चिम रोयल्सको ट्रफी टूर आजदेखि सुरु हुँदैछ। प्रदेशका नौवटै जिल्लामा उपाधि ट्रफी पुर्याउने उद्देश्यसहित रोयल्सले मंसिर २० गतेसम्म ट्रफी टूर आयोजना गर्न लागेको हो।
ट्रफी टूरको पहिलो दिन आज अछाम र बाजुरामा कार्यक्रम हुनेछ। बिहान अछामको बैजनाथ मन्दिरमा ट्रफी प्रदर्शनपछि साँफेबगरसम्म र्याली निकालिनेछ। दिउँसो बाजुराको मार्तडीमा र्याली आयोजना हुनेछ।
मंसिर १४ गते डोटी र डडेल्धुरा, १५ गते बैतडी, १६ गते दार्चुला, १७ गते बझाङ र १८ गते डडेल्धुराको परशुराम धाममा ट्रफी पुर्याइनेछ।
मंसिर १९ गते कैलाली र कञ्चनपुरमा ट्रफी टूर हुनेछ। कैलालीको टीकापुर पार्कबाट सुरु हुने यात्रा चिसापानी, लम्की, घोडाघोडी ताल हुँदै अत्तरियासम्म पुग्नेछ। त्यसपछि कञ्चनपुरको महेन्द्रनगरदेखि दोधारा चाँदनी पुलसम्म र्याली निकालिनेछ।
ट्रफी टूरको अन्तिम दिन मंसिर २० गते धनगढीमा र्यालीसहित सांगीतिक कार्यक्रम आयोजना गरी समापन गरिने रोयल्सले जनाएको छ। धनगढी चौराहाबाट दिउँसो ३ बजे सुरु हुने र्याली महोत्सव मैदानमा पुगेर समापन हुनेछ।
उपाधि जितको खुसी प्रदेशभरका समर्थक र क्रिकेटप्रेमीसँग साटासाट गर्दै उनीहरूलाई उत्सवमा सहभागी गराउने उद्देश्यले ट्रफी टूर आयोजना गरिएको रोयल्सले जनाएको छ।

