

५ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री देउवाको गृह जिल्ला डडेल्धुरामा मतगणना आज दिउँसो २ बजेबाट सुरु हुने भएको छ ।
प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले सर्वदलीय बैठक बसिररहेको र २ बजेपछि मतगणना सुरु हुने जानकारी दिए ।
प्रतिनिधि सभातर्फ एक र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६.६४ प्रतिशत मत खसेको छ ।
९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिए ।
प्रतिनिधि सभामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस बीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार छन् ।
प्रदेशसभा –१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत छन ।
यसैगरी प्रदेशसभा –२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशी, नवराज धिक्तलगायत छन ।

