

२५ मंसिर, धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले पत्रकार खेम ढुङ्गानालाई बन्धक बनाएर समाचारका लागि लिइएको भिडियो डिलिट गर्न लगाएपछि विरोध भएको छ । नगरपालिकाका सवारीसाधन आफ्नो निजी घर निर्माणमा प्रयोग गरेको सूचनापछि समाचार संकलनका लागि पुगेका न्यूज ट्वान्टी फोर टेलिभिजनका पत्रकार ढुङ्गानालाई मेयर शाहीले नियन्त्रणमा लिएर भिडियो डिलिट गराएपछि विरोध गरिएको छ ।
पत्रकार ढुङ्गानाकाअनुसार लम्कीचुहा नगरपालिकास्थित मेयर शाहीको मोटरसाइकल स्वरुम नजिकै घर निर्माणमा प्रयोग भएका सरकारी सवारीसाधनको फुटेल लिने बेला पुगेकी शाहीले उनको मोबाइल खोसेर नियन्त्रणमा लिएकी थिइन् । नजिकैको होटलमा लगेर शाहीले ढुङ्गानामाथि दुव्यर्वहार गर्दै भिडियो डिलिट गरेको ढुङ्गानाले बताए । उनले इलाका प्रहरी कार्यालयलाई खबर गरेपछि प्रहरी निरीक्षक भरत शाह नेतृत्वको टोली सो ठाउँमा पुगेको थियो ।
प्रहरीकै अगाडी शाहीले भिडियोहरु डिलिट गर्न लगाएकी थिइन् । ढुङ्गाना प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिका सदस्य हुन् । यसैबीच प्रेस चौतारी नेपाल कैलालीले घटनाप्रती गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । प्रेस विज्ञप्ती जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन चौैतारीले माग गरेको छ ।
‘लम्कीचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाका सवारी साधन निजी घर निर्माणमा प्रयोग गरेको सूचनाका आधारमा रिर्पोटिङ गर्न गएका बेला बन्धक बनाएर सञ्चार सामाग्रीहरु समेत नियन्त्रणमा लिएको घटनाप्रती प्रेस चौतारी नेपाल कैलालीको गम्भीर ध्यानाकर्षण भएको छ,’ सचिव जनक विष्टले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘उनलाई हातपात गर्दै नियन्त्रणमा लिइ नजिकैको होटलमा दुई घण्टासम्म बन्धक बनाएर गुन्डागर्दी शैलीमा सबै भिडियो डिलिट गराउनु पत्रकारमाथि दुव्यर्वहार र अपमान मात्र नभई प्रेस स्वतन्त्रता र लोकतन्त्रमाथिको प्रहार हो भन्ने हाम्रो ठहर छ ।’
घटनाको निन्दा र भत्र्सना गर्दै पत्रकार ढुङ्गानालाई रिर्पोटिङ स्थलबाट नियन्त्रणमा लिएर होटलमा राखी बन्धक बनाउने कार्यमा संलग्न भएको घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरिएको छ ।
हेर्नुस भिडियो


