२५ साउन, धनगढी । बझाङको बुङ्गल नगरपालिका–९ रारुमा छोराछोरीसहित २२ वर्षीया गीता पार्की मृत भेटिएको घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थल पुगेको छ । जिल्ला सदरमुकाम चैनपुरबाट बुधबार बिहान हिडेको निमित्त प्रमुख प्रहरी निरीक्षक रमेश अवस्थी नेतृत्वको टोली साँझ ५ बजेपछि मात्र त्यहाँ पुगेको हो ।
जिल्लाबाट प्रहरी टोली घटनास्थल पुगेको भएपनि माइती पक्ष ढिलो पुगेका कारण घटनास्थल कार्य गर्ने र शव उठाउने काम भएको छैन । निमित्त प्रमुख प्रहरी निरीक्षक अवस्थीले बिहीबार बिहानदेखि मात्र काम थाल्ने बताउँदै राति घटनास्थलमै शव कुरेर बस्ने जानकारी दिए ।
बुुधबार बिहान करीब ६ बजेतिर रारुका स्थानीय पुष्कर पार्कीकी श्रीमतीसँगै उनका पाँच वर्षीया छोरी भूमिका र तीन वर्षीय छोरा मोहित रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।
तर बुधबार राति करीब १२ बजेतिर रोजगारीको सिलसिलामा भारतमा रहेका पुष्कर घर पुगेकै दिन परिवारका तीनै जना सदस्य मृत भेटिएपछि प्रहरीले घटनालाई गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ । प्रहरीले अनुसन्धानका लागि पुष्करलाई नियन्त्रणमा लिएको छ ।
पुष्करको बयान : ‘म त थाकेको थिएँ, निदाइहालेँ’
मंगलबारमात्रै भारतको पिथौरागढबाट घर आएका मृत भेटिएकी महिलाका श्रीमान पुष्करले आफू निन्द्रामा भएका कारण घटनाबारे केही थाहा नपाएको बयान दिएका छन् । प्रहरीले गरेको प्रारम्भीक सोधपुछका क्रममा उनले आफू राति करीब १२ बजे घर पुगेको दाबी गर्दै थाकेकाले खाना खाएर निदाएको भनेको प्रहरी स्रोत बताउँछ ।
वडाध्यक्ष हरिशबहादुर सिंहले समेत उनले आफूलाई घटनाबारे केही थाहा नभएको बताएको पुष्टि गरेका छन् । ‘म त थाकेको थिएँ, निदाइहालेँ’, उनको भनाइ उधृत गर्दै वडाध्यक्ष सिंहले भने, ‘बिहान छिमेकीले श्रीमती खोइ भनेपछि खोजी गरेका हौं ।’ घाँस काट्न गएकी स्थानीय महिलाले झुन्डिएको अवस्थामा देखेपछि घटना बाहिर आएको हो ।
पुष्कर भारतमा रोजगारी गर्दै आएका थिए भने घरमा उनकी श्रीमती र दुई जना छोराछोरी बस्दै आएको थिए ।