
धनगढी । धनगढीमा पैदल यात्रीलाई ठक्कर दिएर फरार भएका चालक हाइससहित पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले धनगढीमा पैदल यात्रीलाई ठक्कर दिएर भागेका सुपप्र०१००१ज१५८० नम्बरको हाइसका चालक ४५ वर्षीय लोकेन्द्र पाण्डेयलाई पक्राउ गरेको हो ।
कञ्चनपुरको लालझाडी गाउँपालिका–५ बस्ने उनलाई गएराति नै पक्राउ गरिएको थियो । पक्राउ परेका पाण्डेयलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । चालक अत्तरियाबाट पक्राउ परेका हुन् भने ईभी हाइसलाई धनगढीको बोराडाँडीबाट नियन्त्रणमा लिइएको हो ।
उनले चलाएको हाइसको ठक्करबाट धनगढी उपमहानगरपालिका–३ फाप्ला नजिकै गएराति पैदल यात्री चटकपुरका कालु रानाको मृत्यु भएकोे थियो ।
गम्भीर घाइते भएका रानालाई तत्काल उपचारका लागि सेती प्रादेशिक अस्पताल लगिएको थियो । तर उनलाई चिकित्सकले राति ११ः१० बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

