युक्रेन युद्धमा हतियार पठाउने चीन होइन, अमेरिका हो :चिनियाँ विदेशमन्त्रालय

Nisharg hospital

८ फागुन, काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले युक्रेन युद्धमा रुसलाई चीनले हतियार पठाएको भनि दिएको अभिव्यक्ति चीनले प्रतिवाद गरेको छ ।चीनको विदेशमन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार नियमित पत्रकार सम्मेलनमा युद्धको मैदानमा हतियार पठाउने चीन नभएर अमेरिका भएको बताएका हुन् ।

‘अमेरिका चीनलाई के गर्ने भनेर सिकाउने पोजिसनमा छैन । हामी रुससँगको सम्बन्धमा अमेरिकाबाट औँला उठाउने वा उसको जबरजस्ती र दबाबको पक्षमा कहिल्यै खडा हुने छैनौं,’ प्रवक्ता वाङले भने । युक्रेन मुद्दामा चीनको अडान शान्तिको लागि वार्तालाई समर्थन गर्ने बताए ।

केही दिनअघि विदेशमन्त्री ब्लिन्केनले युक्रेनमा आक्रमण गर्न रुसलाई हतियार र गोलाबारुद उपलब्ध गराउने वा नगराउने भनेर चीनले विचार गरिरहेको जानकारी अमेरिकासँग रहेको बताएका थिए ।

उनले अमेरिकासँग चिनियाँ कम्पनीहरूले रूसलाई गैर–घातक सहयोग पठाउँदै आएको तर तिनीहरूले अब घातक समर्थन पनि पठाउन सक्ने भन्दै अमेरिकी सञ्चार संस्था सीबीएसलाई दिएको एक अन्तर्वार्तामा भनेका थिए ।

Dhangadhi suchana

सोही विषयलाई जोडेर उठेको प्रश्नको जवाफ दिँदै चीनको विदेश मन्त्रालयका प्रवक्ताले अगाडि भने, ‘कसले वार्ताको लागि आह्वान र शान्तिको लागि प्रयास गरिरहेको छ अनि कसले द्वन्द्वको आगो निभाएको छ भन्ने कुरा अन्तर्राष्ट्रिय समुदायलाई पूर्ण रूपमा जानकारी छ । हामी अमेरिकी पक्षलाई उसले खेलेको भूमिकालाई गम्भीरताका साथ चिन्तन गर्न, परिस्थितिलाई निरुत्साहित गर्न र शान्ति वार्तालाई प्रवर्द्धन गर्न मद्दत गर्न र दोषारोपण तथा गलत सूचना फैलाउन रोक्न आग्रह गर्दछौं ।’

उनले चीन शान्ति र वार्ताको पक्षमा अडिग रहनेछ भन्दै परिस्थितिलाई सहज बनाउन रचनात्मक भूमिका खेल्ने बताए । प्रवक्ता वाङले चीनले म्युनिख सुरक्षा सम्मेलनमा यस विषयमा विस्तृत रूपमा आफ्नो धारणा राखेको बताए ।

‘चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्य तथा विदेश मामिलाका लागि केन्द्रीय आयोगको कार्यालयका निर्देशक वाङ यीले म्युनिख सुरक्षा सम्मेलनमा यसबारे विस्तृत रूपमा बताउनुभएको छ,’ उनले भने, ‘युक्रेन संकटको एक वर्ष पुग्न अब केही दिन बाँकी छ । चीनले युक्रेन संकटको राजनीतिक समाधान खोज्ने स्थितिसम्बन्धी दस्तावेज जारी गर्नेछ । उक्त दस्तावेजले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्ने, संयुक्त राष्ट्र संघको बडापत्रको उद्देश्य र सिद्धान्तलाई पालना गर्ने, सबै देशको वैधानिक सुरक्षा चासोलाई गम्भीरताका साथ लिने र शान्तिपूर्ण समाधानका लागि सबै प्रयासहरूलाई समर्थन गर्ने जस्ता राष्ट्रपति सी जिनपिङको महत्त्वपूर्ण प्रस्तावलाई पुनः पुष्टि गर्नेछ ।’

उनले उक्त प्रस्तावले ‘परमाणु युद्ध कहिल्यै लड्नु हुँदैन र कहिल्यै जित्न सकिँदैन’ भनेर पुष्टि गर्ने समेत बताए । ‘हामी नागरिकको आणविक सुरक्षा सुनिश्चित गर्न र आणविक ऊर्जा संयन्त्रहरूमा हुने आक्रमणहरू विरुद्ध खडा हुन तथा जैविक, रासायनिक हतियारहरूको प्रयोगको संयुक्त रूपमा विरोध गर्न पनि आह्वान गर्दछौं,’ उनले भनेका छन् ।

‘परिस्थिति जति जटिल छ, शान्त र व्यवहारिक हुन पनि त्यत्ति नै आवश्यक छ । लडाइँ जति लम्बिँदै जान्छ, हामीले शान्तिको लागि प्रयास गर्न नछोड्नु उति नै महत्वपूर्ण हुन्छ,’ उनले भने, ‘चीनले सबै पक्षहरूसँग मिलेर प्रयास जारी राख्ने आशा गरेको छ, ताकि चाँडै नै शान्ति कायम होस् ।’

Navjiwan hospital adv
याे पनि हेर्नुस्
Loading...