३ भदौ, धनगढी । राशन घोटालामा मुछिएपछि दार्चुलामा कार्यरत सशस्त्र प्रहरीका एसपी त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । सशस्त्र प्रहरीको ४४ नम्बर गणका प्रमुखका रुपमा कार्यरत विष्टले सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा घोटाला गरेको आरोप लागेपछि जिम्मेवारी मुक्त गरेर उनीमाथि छानविनका थालिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनीका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) दुर्गा भट्टराईले एसपी विष्टलाई तत्काल जिम्मेवारीबाट हटाइएको पुष्टि गरेका छन् ।
उनले राशनमा अनियमितता भएको आरोप लागेपछि सशस्त्र प्रहरीको मुख्यालय हल्चोक झिकाएर आवश्यक छानविन थालिएको बताए । एसपी विष्टमाथि सुरक्षाकर्मीलाई बिदामा छाडेर राशन वापत प्राप्त हुने गरेको रकम आफू बुझ्ने गरेको आरोप लागेको छ ।
यो विषयसँग सम्बन्धीत सूचना पत्रकारलाई उपलब्ध गराएको भन्दै एसपी विष्टकै सिफारिसमा सोही गाण्मा कार्यरत वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि मुद्दा चलाइएको छ । सशस्त्र प्रहरीको विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाएका साहु डिल्लीबजार कारागारमा छन् ।
एसपी विष्टकै सिफारिसमा गणमा रहेका हातहतियार सम्बन्धी विवरणको समेत सूचना सञ्चार माध्यमलाई दिएको भन्दै जन्म कैदको सजाय माग गरिएको छ तर सुरक्षाकर्मीको हाजिर र विदामा बसेको विवरण बाहेक साहुले अरु सूचना पत्रकारलाई नदिएको भन्दै एसपी विष्टले फसाउन झुठो मुुद्दा लगाएको उनको परिवारले आरोप लगाएका छन् ।