१० भदौ, धनगढी । कैलालीको लम्कीमा अगामी भदौ ३० गतेदेखि ‘लम्की सांगितीक महोत्सव २०७९’ आयोजना हुने भएको छ । बर्दगोरिया गाउँपालिका–२ को बौनियामा रहेको सहारा घरको सहयोगार्थ हाइवे मिडिया प्रा.लिले सञ्चालन गरेको लम्की एफ.एम. ९२.१ मेगाहर्जको आयोजनामा ३० गते देखि असोज ९ गते सम्म ‘लम्की सांगितीक महोत्सव २०७९’ आयोजना हुन लागेको हो ।
आयोजकले असहायका लागी सहयोगी हातहरु नेपालको सहारा घरको सहयोगाथ महोत्सव आयोजना गर्न लागेको जानकारी दिएको छ । लम्की एफ.एमका प्रबन्ध निर्देशक तिर्थ जैसीले यहाँको कृषि, पर्यटन र मौलिक कला, संस्कृति राष्ट्रिय रुपमा चिनाउने पनि महोत्सवको उद्देश्य रहेको बताए ।
बौनियाको सहारा घरमा एक सय जना भन्दा बढी असहाय तथा मानसिक सन्तुलन ठीक नभएका व्यक्ति आश्रीत छन् । सञ्चालक बल बहादुर विष्टकाअनुसार सरकारी निकायबाट प्रत्यक्ष सहयोग प्राप्त नभएपनि विभिन्न संघ संस्थाको सहयोगले उनीहरुको पालपोषण गरिदै आएको छ । सहारा घरको सहयोगार्थ महोत्सव आयोजना हुने भएपछि आश्रीतहरुको जिविको पार्जनमा सघाउ पुग्ने विश्वास गरिएको छ ।
महोत्सवमा यहाँको कला, संस्कृति र भेषभुसा झल्कीने, व्यापारीक, व्यावसायिक र कृषि उत्पादन सम्बन्धीका स्टल राखिने संयोजक दिपक सुनारले बताए । महोत्सव अवधीभर स्थानीय तथा राष्ट्रिय कलाकारको समेत प्रस्तुती रहने आयोजकले जनाएको छ । १० दिन सम्म सञ्चालन गरिने महोत्सवमा करीब ५० लाख खर्च हुने अनुमान गरिएको छ भने महोत्सवलाई ८ लाखले अवलोकन गर्ने दाबी गरिएको छ ।