११ भदौ, धनगढी । बैतडी समाज कैलालीले धनगढीमा आठौँ बृहत् रक्तदान महोत्सव सम्पन्न गरेको छ । शनिबार आयोजना गरिएको महोत्सवमा ८५ जनाले रगत दान गरेको समाजले जनाएको छ ।
रक्त दान जीवनदान भन्ने मूल नाराका साथ बैतडी समाजको सचिवालय पद्मा नर्सिङ कलेजको प्राङ्गणमा बिहान ९ बजे देखि भएको कार्यक्रममा ८५ पिन्ट रगत सङ्कलन भएको हो ।
उक्त महोत्सवमा आँखा शिविर, दन्त शिविर र स्वास्थ्य शिविर पनि राखिएको थियो । आँखा शिविरबाट ३१८ जनाले सेवा प्राप्त गरेको समाजका कार्यक्रम संयोजक राज बहादुर चन्दले जानकारी दिए । चन्दकाअनुसार १०१ जनाले चस्मा लिए भने ११ जनाले शल्यक्रिया गरिएको छ ।
दन्त शिविरमा ७७ जनाले सेवा लिएका छन् । स्वास्थ्य शिविरतर्फ १५५ जनाको स्वास्थ्य जाँच गरिएको छ । कार्यक्रममा धनगढी नेत्रालयले निःशुल्क आँखा चेक जाँच , निःशुल्क औषधी वितरण, चस्मा वितरण, मोतीबिन्दुको शल्यक्रिया सेवा दिएको थियो ।
समृद्धि डेन्टलले निःशुल्क दन्त परीक्षण गरी उपचारमा १५ प्रतिशत छुट सेवा दिएको थियो भने सारथी अस्पताल प्रा लिे निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर सहयोग गरेको बैतडी समाज कैलालीले जनाएको छ ।