
१२ भदौ, धनगढी । डोटीबाट पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रेमबहादुर आले पुनः प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रुपमा सिफारिस भएका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि नेकपा (एकीकृत समाजवादी) पार्टीको जिल्ला सचिवलायको बैठकले आलेको नाम प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवारका रुपमा प्रदेश कमिटिलाई सिफारिस गरेको हो ।

समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशकी पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी, ऐश्वरीया भण्डारी विष्ट, महादेव भारती र डम्मर देव भट्टको नाम सिफारिस गरिएको पार्टी अध्यक्ष दिर्घराज बोगटीले जानकारी दिए ।
प्रदेशसभातर्फ प्रदेश सभा ‘क’ मा प्रत्यक्षतर्फ पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्कबहादुर सिंह र जिल्ला अध्यक्ष स्वयंम बोगटीको नाम सिफारिस भएको छ भने समानुपातिकमा शिवराज खड्का, सीता रायमाझीसहितका पाँच जनाको नाम सिफारिस गरिएको छ ।
प्रदेशसभा ‘ख’ का लागि प्रत्यक्षतर्फ पूर्व मन्त्री जोशी र समानुपातिकमा यज्ञराज जोशी, तापसिंह केलल लगायतका चार जनाको नाम सिफारिस गरिएको छ ।
