१९ भदौ, धनगढी । अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमाले अछामले उम्मेदवार सिफारिस गरेको छ । आइतबार बसेको जिल्ला कमिटिको बैठकले प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट नेता भीम रावल र क्षेत्र नम्बर २ बाट यज्ञ बोगटीको नाम सर्वसम्मत रुपले प्रदेश कमिटिलाई सिफारिस गरिएको एमालेले जनाएको छ ।
जिल्ला कमिटिका सचिव डिबी साउँदले दुवै क्षेत्रबाट सिफारिस भएर सर्वसम्मत रुपले आएका रावल र बोगटीको नाम प्रदेश कमिटिलाई सिफारिस गरेको जानकारी दिए । उनकाअनुसार दुवै निर्वाचन क्षेत्रमा प्रदेशसभाका प्रत्यक्षतर्फका उम्मेदवार पनि सर्वसम्मत रुपले सिफारिस गरेको छ भने समानुपातिक सांसद सिफारिस गर्न बाँकी छ ।
निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा ‘क’ बाट प्रकाश शाह, देवबहादुर कुँवर, देवबहादुर साउँद र सीता कुँवरको सिफारिस गरिएको छ भने प्रदेशसभा ‘ख’ बाट कृष्णप्रसाद जैशी, केशरबहादुर साउँद, डीबी साउँद (उनी आफै) र पद्मा तिमिल्सिना न्यौपाने नाम सिफारिस गरिएको साउदले जानकारी दिए ।
यस्तै निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा ‘क’ भीमबहादुर विष्ट, बाट बम बहादुर बिसी, बलबहादुर कुँवर, कमल रावल, नन्द चलाउने, प्रेम खत्री र शिद्धादेवी शाही सिफारिसमा परेको उनले बताए । प्रदेशसभा ‘ख’ बाट चन्द्र बोहरा, लीलाराज केसी भीम रावल (कालोटोपी), शिवप्रसाद उपाध्याय, भीम जनला, दीपक अधिकारी, कृष्ण साउँद, र टोपबहादुर शाहीको नाम सिफारिस भएको एमालेले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फका उम्मेदवारको नामका विषयमा भने सोमबार बस्ने बैठकले निणर्य गर्ने सचिव साउँदले बताए ।