२५ भदौ, धनगढी । दार्चुलामा पहिरोमा पुरिएर चार जना बेपत्ता भएका छन् । जिल्लाको महाकाली नगरपालिकामा २ जना र नौगाड गाउँपालिकामा २ जना पहिरोमा पुरिएर बेपत्ता भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी हेमन्ती साउँदले शुक्रबार रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोमा पुरिएर चार जना बेपत्ता भएको जानकारी दिइन् । उनकाअनुसार महाकाली नगरपालिका–४ मा स्थानीय मुसी कामीको घाइते अवस्थामा उद्दार गरेर अस्पताल ल्याइएको छ ।
नौगाड गाउँपालिकामा दुई जना मृत अवस्थामा भेटिएको विवरण प्राप्त भएपनि उद्दार टोली घटनास्थल नपुगेकाले आधिकारीक रुपमा पुष्टि हुन नसकेको सप्रजिअ साउँदले बताइन् ।
पहिरोले महाकाली र नौगाडमा ११ वटा घरमा क्षति पुगाएको छ । तर यकिन विवरण प्राप्त भइनसकेको बताइएको छ । महाकाली नगरपालिका ४ को दशरथ प्राथमिक विद्यालयको भवनमा पनि पहिरोले क्षति गरेको छ भने लास्कु खोलामा झोलुङ्गे पुल बगाएको छ ।