

डोटी । डोटीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । सायल गाउँपालिकाबाट सिलगढी आउँदै गरेको रा १ ज ९१५ नम्बरको बोलेरो जिप सिलगढी नजिक पानिखालमा दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय डोटीकाअनुसार सडक घुम्तीमा जिप पल्टिँदा सवार १२ जनामध्ये ६ जना घाइते भएका हुन् । घाइते हुनेमा सायल गाउँपालिका–३ का ५० वर्षीय भारमल खाती, ४५ वर्षीय माने खाती, ३० वर्षीय अमृत खाती, ३२ वर्षीय गम्भीरे खाती, पुर्विचौकी गाउँपालिका–२ का २४ वर्षीय दीपक ठकुल्ला र बाबा आनन्द गिरी रहेका छन् ।
घाइतेहरुको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको छ। गम्भीरे खातीको अवस्था भने गम्भिर रहेकाले उपचारका लागि बाहिर पठाउने तयारी भइरहेको उपचारमा संलग्न चिकित्सक डाक्टर समिक सिंहले बताए । चालक प्रेम बिष्ट भने फरार रहेको प्रहरीले जनाएको छ ।

