२१ भदौ, धनगढी । गत बुधबार बिहान नेपाली कांग्रेस कैलालीका नेताहरु पुष्करनाथ ओझाको घरमा पुगे । नेपाली कांग्रेसको क्रियाशिल सदस्यबाट समेत हटाइएका ओझालाई भेट्न घरमै पुग्ने नेताहरुको उद्देश्य थियो, पुष्करनाथलाई फकाएर प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई भेटाउने ।
ओझाले पार्टी सभापति देउवासँग जुनसुकै बेला भेट गर्न तयार छु भन्ने जवाफ त फर्काए तर कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको सिफारिसमा परेकी देउवा पत्नी आरजु राणालाई सघाउने विषयमा सकारात्मक देखिएनन् । बरु लोकतन्त्रमा प्रधानमन्त्री र प्रधानमन्त्री पत्नी एउटै चुनाव लड्ने लोकतन्त्रमा नभएको बताए ।
ओझाले भेटमा सहभागी कांग्रेस नेताहरुलाई कांग्रेस आफ्नो घर भएकोले घरबाटै चुनाव लड्ने भनेपछि उनीहरुले निर्वाचन क्षेत्र नम्बर ४ लाई विकल्पका रुपमा अघि सारेका थिए तर ओझा त्यसमा तयार भएनन् । उनले आफूले पार्टीबाट टिकट लिएर वा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचन क्षेत्र नम्बर ५ बाटै चुनाव लड्ने अडान राखे ।
३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनका बेला सभापति देउवालाई भेट्न अस्वीकार गरेका ओझाले जुनसुकै बेला भेटन तयार रहेको र कांग्रेसबाटै चुनाव लड्ने इच्छा देखाएपछि झिनो आशा बोकेर त्यो दिने नेताहरु उठेका थिए ।
त्यो दिन पार्टी जिल्ला सभापति नारायणदत्त भट्ट, कांग्रेस केन्द्रीय सदस्य एवं पूर्वमेयर नृप वड, प्रदेश सरकारका मन्त्री टेकबहादुर रोका, प्रदेश कमिटीका कोषाध्यक्ष उत्तम कठायत, गोदावरीका मेयर वीरेन्द्र भट्ट लगायतका नेताहरु उनको घरमै पुगेका थिए ।
ओझासँग दोस्रो चरणमा कुराकानी गरेर बालुवाटारसँग भेट गराउने जिम्मा पार्टी सभापति नारायणदत्त भट्टलाई दिइएको थियो । यो बीचमा भट्टसहित कांग्रेस कैलालीका अन्य पदाधिकारीहरुले पनि ओझासँग संवाद गरे तर उनी आफ्नो अडानमा यथावथ देखिएपछि नेतााहरु निराश बनेका छन् ।
‘सोही कारण नेताहरु पूर्व राज्यमन्त्री समेत रहेका ओझालाई फकाउन नसकेपछि बालुवाटारसँग भेट गराउने योजना असफल भएपछि निराश बनेका छन्,’ कांग्रेस कैलालीका एक नेताले भने, ‘उहाँ आफ्नो अडानबाट पछि नहट्ने देखिएकाले अब संवाद नगर्ने भन्ने कुरा भएको छ ।’
कांग्रेस कैलालीका सभापति भट्ट पनि पुष्करनाथ ओझा आफ्नो अडानबाट दायाबाँया नभएपछि संवादको वातावरण नबनेको स्वीकार गर्छन् । ‘म भए हुन्छ नभए हुदैन भनेर कहाँ पुगिन्छ त ? आफूलाई करेक्सन गरेर उहाँले पार्टीको जे निर्णय गर्छ त्यो मान्छु भनेर भन्नुपर्यो नी,’ भट्टले भने, ‘हिजो जे भयो त्यो अब दोहोरिदैन भन्ने कोणबाट उहाँ आउनुपर्यो नी । पार्टीको अहित हुने काम गर्दैन । पार्टीले गरेको निर्णयलाई मेरो इच्छा भन्न पाइदैन ।’
ओझाले कांग्रेसले कारबाही फुकुवा गरेर कैलाली निर्वाचन क्षेत्र नम्बर –५ बाट टिकट दिनुपर्ने माग राखेका छन् । यहाँबाट प्रधानमन्त्री पत्नी आरजु उम्मेदवार बन्ने भएकाले त्यो सम्भावना अब टरिसकेको नेताहरु बताउँछन् ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारमा आकांक्षा राखेका ओझालाई बाइपास गर्दै देउवाले पत्नी आरजुलाई यो क्षेत्रबाट टिकट दिएका थिए । त्यो चुनावमा असहयोग गरेको भन्दै ओझालाई क्रियाशिल सदस्य समेत नरहनेगरी पार्टीबाट निष्काशन गरिएको थियो ।
गत बैशाख ३० मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवार गोपाल हमाललाई सघाएका ओझा अगामी मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएर पनि चुनाव लड्ने तयारीमा छन् । ओझा निकट स्रोतकाअनुसार अहिले पनि उनी पार्टीका नेताहरुसँग निरन्तर संवादमा छन् । पार्टीमा कुरा नमिलेको अवस्थामा उनी छिट्टै स्वतन्त्र उम्मेदवारी घोषणा गर्दैछन् ।