५ असोज, धनगढी । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझासहतिका जनप्रतिनिधि तथा उम्मेदवारहरुलाई कारबाही गरिएको छ ।
गत वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण नबुझाएको भन्दै निर्वाचन आयोगले उनीहरुलाई जरिबाना तिर्न लगाएको हो ।
नगर प्रमुखमा विजयी भएका ओझासहित उनका प्रतिस्प्रर्धीहरु जगदिश प्रसाद भट्ट, जोगराज चौधरी, लोकेन्द्र प्रसाद पन्त, सुरेन्द्र बहादुर बम र सुशिल प्रसाद बडूलाई निर्वाचन आयोगले जरिबाना गरेको हो ।
उनीहरुले चार लाख ५० हजार जरिबाना तिर्नुपर्ने छ । उप–प्रमुखका उम्मेदवारहरु मञ्जुकुमारी नेपाली, उषादेवी थापा, गीता मल्ल, जानकी चन्द, द्रोपती राना र रमिता कुमारी रानालाई पनि प्रतिव्यक्ति चार लाख ५० हजार जरिबाना गरिएको छ ।
जिल्लाको कृष्णपुर नगरपालिकामा स्थानीय तहको निर्वाचनमा वडाध्यक्ष, वडा सदस्य, महिला सदस्य, दलित महिला सदस्यसहित एक सय ७२ जना उम्मेदवारलाई पनि जरिबाना गरिएको छ ।
उनीहरुले २ लाखका दरले जरिबाना तिर्नुपर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा भएको खर्चको विवरण पेश गर्ने उम्मेदवारहरुलाई ६ महिनाको समय दिएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २६ को उपदफा (३) बमोजिम ६ महिनाभित्र निर्वाचन आयोगको कार्यालय कोर्ड न. २१२००३५०१, राजश्व शिर्षक नम्बर नम्बर १४३१२ मा दाखिला गरि दाखिला भौचरसहितको निवेदन प्रदेश र जिल्ला निर्वाचन कार्यालय वा आयोगमा पेश गर्न भनिएको छ ।
उनीहरुले जरिबाना नतिरेमा ६ वर्षसम्म उम्मेदवारी दिन नपाउने र निर्वाचितहरुको पदसमेत जाने आयोगले बताएको छ ।