७ असोज, धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता क्षितिज भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै भण्डारीले उम्मेदवारी घोषणा गरेका हुन् ।
यसअघि प्रतिनिधिसभा सदस्यका लागि एकल सिफारिसमा परेकी प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजुले समानुपातिक रोजेको भण्डारीले आफू निर्विकल्प भएको बताउदै उम्मेदवारी घोषणा गरेका हुन् ।
नेपाली कांग्रेसका महासमिति सदस्य समेत रहेका भण्डारीले नेताहरुले टिकटका लागि काठमाडौँ धाइरहेका बेला जनताकाबीचमा बसेर काम गर्दै आएको बताउदै आफू नै बलियो उम्मेदवार भएको दाबी गरेका छन् । २०७४ सालको निर्वाचनमा समेत आरजु देउवाविरुद्ध मनोनयन दर्ता गराएका भण्डारीले अन्तिम समयमा आएर फिर्ता लिएका थिए ।
भण्डारीले अगामी मंसिर ४ मा हुने निर्वाचनमा समेत नेपाली कांग्रेसको क्षेत्रिय समितिमा प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि निवेदन दिएका थिए । क्षेत्रिय समितिले भने आरजुको एकल नाम जिल्ला समितिलाई सिफारिस गरेको थियो । तर उनको नाम क्षेत्र नम्बर ५ को प्रदेशसभा ख बाट भने सिफारिसमा परेको थियो भने क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा सिफारिसमा परेका छन् ।