८ असोज, धनगढी । नेकपा एमाले कैलालीका इन्चार्ज नारदमुनी रानाले सत्तारुढ गठबन्धनले सत्तासँग राष्ट्रियता साट्ने काम गरेको बताएका छन् । शनिबार धनगढी उपमहानगरपालिका–५ को तारानगरमा देउथान थारु संघको नवनिर्मित भवन उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य एवंम् पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका रानाले स्वार्थमा निहित गठबन्धनको कुनै गन्तव्य नभएको टिप्पणी गरे ।
‘सत्ता र कुर्सीसँग राष्ट्रियता साट्ने गठबन्धनको काम छैन । यो लक्ष्यविहीन, गन्तव्यविहीन व्यक्तिगत स्वार्थ केन्द्रीत गठबन्धन हो,’ रानाले भने, ‘जनघाती काम गरेर गठबन्धनधारी सरकारले राष्ट्रिय अपराध गर्ने काम गरेको छ । यसलाई अगामी निर्वाचनबाट परास्त गर्नुपर्छ ।’
रानाले गठबन्धन सरकारले दुई पटक प्रतिनिधिसभाबाट पारित गरेको नागरिक विद्येयकलाई लक्षित गर्दै यस्तो टिप्पणी गरेका हुन् । रानाकै पहलमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगत करीब २२ लाखको लागतमा निर्माण भएको भवनको शनिबार उनले विधिवत रुपले उद्घाटन गरेका छन् ।
उनले उक्त भवन रानाथारु समुदायको धर्म, संस्कृति र परम्परासँग जोडिएकाले सामुदायिक एकता कायम गर्ने विश्वास समेत व्यक्त गरेका छन् ।