११ असोज, काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का पूर्वसांसद गजेन्द्र महतले अब आफू निर्वाचन नलड्ने घोषणा गरेका छन् ।
माओवादी केन्द्रका जुम्ला इन्चार्ज महतले आफू यसपटकको निर्वाचनमा उम्मेदवार नबन्ने बताए ।
’मलाई मन्त्री बनाउदैनन् । सांसद भएर जनताको काम गर्न नसकिने रैछ । त्यसैले यसपटक अर्को साथीलाई सहायोग गर्छु,’ उनले भने,’सत्ता गठबन्धनबाट जुम्लामा हाम्रै पार्टीले टिकट पाउँछ । म जिल्ला इन्चार्ज भएकाले दोहोरिन सक्छु तर मलाई इच्छा छैन ।’
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जुम्ला माओवादीकै भागमा पर्छ या कांग्रेसलाई पर्छ भन्ने टुंगो लागिसकेको छैन । २०७४ को निर्वाचनमा यो क्षेत्रमा गठबन्धनका तर्फबाट माओवादीका गजेन्द्र महत विजयी भएका थिए ।
जुम्लाबाट राप्रपाका ज्ञानेन्द्र शाहीले उम्मेदवारी घोषणा गरिसकेका छन् । उनले आफ्नो चुनावी घरदैलो समेत सुरू गरेका छन् ।
सांसद भएर आफ्नै खर्च धान्न धौ–धौ भएकाले यसपटक उम्मेदवार नबन्ने उनले बताए ।
जुम्लाबाट काठमाडौं आउने–जाने गर्दैमा ३२ हजार खर्च हुन्छ। म एक्लै आउने–जाने गर्दा यति खर्च हुने हो । सांसदका साथमा अरू समेत हुन्छन्,’ उनले भने,’भनसुनमा उत्तिकै लाग्नुपर्ने तर काम गर्न नसकिने हुँदा धेरै गाह्रो हुन्छ ।’
चुनावमा हुने खर्च धान्न समेत कठिन हुने उनको तर्क छ ।
‘सांसदको चुनाव लड्न डेढ करोडसम्म खर्च गर्न तयार हुनुपर्छ,’ उनले भने ।