बडीमालिका पूजाका लागि बाजुराको सरकारी टोली प्रस्थान

cp new add
Nisharg hospital

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्रका रूपमा प्रसिद्ध बडीमालिका मन्दिरमा हुने पूजाआजाका लागि बाजुराको सरकारी टोली प्रस्थान गरेको छ।

Nast Ad

सदरमुकाम मार्तडीस्थित मालिका मन्दिरमा पूजाआजा गरेपछि सरकारी टोली आज बडीमालिकातर्फ प्रस्थान गरेको हो। सुरक्षाकर्मीको सलामी, बाजागाजा तथा धार्मिक विधिअनुसार टोलीलाई बिदाइ गरिएको थियो।

फूलमालाले सजिएका जमराका टोकरी शिरमा राखेर पञ्चकन्या तथा महिलाले सरकारी टोलीको बिदाइ गरेका हुन्। बडीमालिका नगरपालिकाका प्रमुख अमरबहादुर खड्का, उपप्रमुख नन्दा थापा, जिल्ला प्रहरी प्रमुख शैलेश्वरी बोहरालगायत सरकारी अधिकारी तथा सुरक्षा निकायका प्रतिनिधि टोलीमा सहभागी छन्।

प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाका अनुसार प्रहरी प्रमुखको नेतृत्वमा सरकारी टोली बडीमालिकातर्फ गएको हो। टोलीको प्रस्थानसँगै बडीमालिका क्षेत्रमा सुरक्षा व्यवस्थासमेत थप प्रभावकारी बनाइएको छ। देशका विभिन्न जिल्लाका साथै छिमेकी मुलुक भारतबाट समेत तीर्थयात्री बडीमालिका पुग्न थालेका छन्। बडीमालिका यात्राको औपचारिक सुरुवात भने आजबाट भएको हो।

टोलीले पहिलो दिन सोता पाटन, दोस्रो दिन त्रिवेणी पाटन हुँदै तेस्रो दिन बडीमालिका मन्दिर पुग्ने जनाइएको छ। बडीमालिका मन्दिरमा मुख्य पूजा भदौ ११ गते हुने बताइएको छ।

बडीमालिका धार्मिक आस्थाको केन्द्रसँगै प्राकृतिक सौन्दर्यका कारण महत्वपूर्ण पर्यटकीय गन्तव्यसमेत मानिन्छ। यहाँ हरेक वर्ष ठूलो संख्यामा स्वदेशी तथा विदेशी श्रद्धालु दर्शनका लागि पुग्ने गरेका छन्।

Navjeen New Ad
याे पनि हेर्नुस्
Loading...