११ असोज, धनगढी । कैलालीको गौरीगंगा नगरपालिका–५ का ३४ वर्षीय शेरबहादुर नाम्जाली मगर ५ असोजमा भारतबाट घर फर्किए । परिवारलाई कुनै पनि सदस्यलाई सुईको समेत नदिएर राति करीब १० बजे घर पुगेका उनलाई श्रीमती परपुरुषसँगको सम्बन्धमा रहेको आशंका थियो ।
श्रीमती ललिताले राति अबेरसम्म अनलाइन बस्ने, भारतबाट फोन गर्दा समेत नउठाउने, अपरिचित नम्बरबाट फोन गर्दा उठाउने क्रम बढ्दै जान थालेपछि उनले उतैबाट उनीमाथि निगरानी बढाएका थिए । उनलाई श्रीमतीको व्यवहार परिवर्तन हुँदै गएपछि परपुरुषसँग सम्बन्ध राखेको आशंका गरेका गर्न थालेका थिए ।
गाउँलेहरुले समेत उनको श्रीमतीको चरित्रलाई लिएर कुरा लगाउने गरेका थिए । सोही कारण ५ असोजमा उनी कसैलाई जानकारी नदिएर घर पुगेका थिए । अबेर राति पुगेका उनी खाना खाएर श्रीमतीसँगै सुते ।
चरित्रकै कुरामा दुवै जनाबीच वादविवाद भयो । सोही क्रममा नाम्जाली मगरले रिसको झोकमा श्रीमतीको घाँटी डोरीले थिचेर हत्या गरेको बयान प्रहरीलाई दिएका छन् । आमालाई मार्दै गरेको छोरी लक्ष्मीले देखेपछि उनलाई समेत धारिलो हतियार प्रहार गरेका थिए ।
तर १७ वर्षीया छोरी भागेर ज्यान बचाउन सफल भइन् । उनको घाँटीमा गम्भीर चोट लागेको छ । अहिले उनी सेती प्रादेशिक अस्पतालमा उपचाररत छिन् । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले इप्रका मालाखेतीको नियन्त्रणमा रहेका नाम्जाली मगरले प्रारम्भीक बयानका क्रममा श्रीमतीको चरित्रमाथि शंका गर्दै हत्या गरेको बताएको जनाए ।
‘उनी रोजगारीका सिलसिलामा भारतमा बस्ने गरेका रहेछन् । श्रीमती परपुरुषसँग लागेको आशंकामा दुवै जनाबीच वादविवाद हुँदा हत्या गरेको बयान दिएका छन् । हामी थप अनुसन्धान गर्दैछौँ,’ डीएसपी जोशीले प्रेसपत्रसँग भने ।