
१५ असोज, बाजुरा । बाजुराको बुढीगंगा नगरपालिका र खप्तड छेडेदह गाउँपालिकाको तर्फबाट बाजुरा जिल्लाको कारागारमा रहेका कैदी बन्दीहरुलाई दशैँ मनाउनका लागी उपहार स्वरुप खसी दिएका छन् ।

बुढीगंगा नगरपालिकाको तर्फबाट नगर प्रमुख रामबहादुर बाँनीया र उपप्रमुख माया कुँवरले संयुक्त रुपमा खसी उपहार दिएका हुन् । बाजुरा कारागारमै पुगेर कारागार कार्यालयका चौकीदार रुपेश रावतलाई हस्तान्त्रण गरिएको बुढीगंगा नगरपालिका १० का वडाध्यक्ष दलबहादुर साउँदले बताए ।
कारागारमै पुगेर बुढीगंगा नगरपालिकाका नगरप्रमुख बानियाँले कारागारका जेलर हंस बोहरा, चौकीदार रुपेश रावत र नाईके विरेन्द्र रावत मार्फत कैदीबन्दीलाई दशैं मनाउन खसी उपहार दिइएको हो ।

उक्त अवसरमा कारागारमा रहेका बन्दीहरुले आफै बुनेको टोपी प्रमुख र उपप्रमुखलाई उपहार दिएका हुन । बुढीगंगा नगरपालिकाले २० हजार बराबरको खसी र खेलकुदका सामाग्री हस्तान्तरण गरेको हो ।
यस्तै, खप्तड छेडेदह गाउँपालिकाले पनि कारागारका कैदीबन्दीलाई एउटा खसी र खेलुकदका सामाग्री उपलव्ध गराएको छ । गाउँपालिकाकी उपाध्यक्ष विशुदेवी नाथको नेतृत्वमा कारागारमै पुगेर जेलर, चौकीदार र नाईके मार्फत कैदी बन्दीलाई खसी उपहार दिएकी हुन् ।
हाल कारागारमा ५६ जना कैदीबन्दी रहेका छन् ।
