बिना मगरकै क्षेत्रमा भेटिएनन् माओवादी कार्यकर्ता, माला मात्रै लगाएर फर्किए प्रचण्ड



महेन्द्रनगर । हुलाकी राजमार्ग केन्द्रित जनतासँगको अभियानका क्रममा कञ्चनपुरको बेलडाँडी गाउँपालिका पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बेखुस बनेका छन् ।
अघिल्लो निर्वाचनमा बुहारी बिना मगरले चुनाव जितेको कञ्चनपुरको १ नम्बर निर्वाचन क्षेत्रमा पर्ने बेलडाँडी गाउँपालिकामा आयोजित औपचारिक कार्यक्रममा सहभागी संख्या न्युन भएपछि उनी कार्यक्रमलाई सम्बोधन नै नगरी हिँडेका छन् ।
बेलडाँडी पुगेर उनले सुरुमा गाडीभित्रैबाट कार्यक्रमस्थल हेरे तर सहभागी कम भएपछि उनले गाडीको सिसा बन्द गरेर केहीबेर भित्रै बसे । कार्यक्रम सञ्चालकले पटक–पटक पार्टी अध्यक्ष पुगिसकेका र स्वागत गर्न भनेपछि उनी गाडीबाट ओर्लिएर मञ्चतिर लागेका थिए ।
मञ्चमा खाँदा लगाएर उनी समय नभएको बहाना बनाएर बेदकोटतिर लागेका स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । प्रचण्डले कोणसभामा सम्बोधन गर्ने पूर्वनिर्धारित कार्यक्रम थियो ।
नेकपा माओवादी केन्द्र बेलडाँडी गाउँ कमिटी इन्चार्ज हरिप्रसाद शर्माले पूर्वनिर्धारित कार्यक्रम भएपनि अध्यक्ष प्रचण्डको महेन्द्रनगरमा हुने सभालाई ख्याल गरेर कमिटीका नेताहरुलाई मात्र सहभागी गराइएको दाबी गरे ।
शर्माले त्यहाँ अध्यक्षले सम्बोधन गर्ने कार्यक्रम नभएर सम्मान मात्रै राखिएको उनको दाबी छ । अर्कोतिर महेन्द्रनगरको सभामा पनि केन्द्रीत हुनुपर्ने भएकाले जनता र कार्यकर्तालाई भेला गरेर दुःख नदिइएको दाबी गरे ।
उनले सत्तारुढ दल नेकपा एमालेका एक नेताले भिडियो बनाएर माओवादी पार्टीलाई बदनाम गर्ने षड्यन्त्र गरेको आरोप समेत लगाएका छन् ।
तर, उपलब्ध फोटो र भिडियोमा सहभागी संख्या थोरै र कार्यक्रमका कुर्सी खाली देखिएका छन् । माओवादीले बुधबारै कञ्चनपुरको भीमदत्त नगरपालिकामा ‘तराई–मधेश जागरण अभियान’ अन्तर्गत हुलाकी राजमार्ग केन्द्रित जनसंवाद कार्यक्रमको समापन गरेको छ ।
हेर्नुहोस् भिडियो
