


काठमाडौं । फिलिपिन्समा तालिमका क्रममा वायुसेनाका दुईवटा विमान हावामै ठोक्किँदा चारै पाइलटको मृत्यु भएको छ ।


शुक्रबार स्थानीय समयअनुसार दिउँसो ३ः५१ बजे राजधानी मनिलाको दक्षिणमा पर्ने लिपा सहरस्थित फर्नान्डो एयर बेसनजिकै दुर्घटना भएको हो । कम उचाइमा उडिरहेका दुईवटा एसएफ–२६० तालिम विमान एकआपसमा ठोक्किएका थिए । दुर्घटनापछि एउटा विमानको भग्नावशेष सैन्यकर्मीहरूको ब्यारेकनजिक खसेको थियो ।






दुर्घटनापछि फिलिपिन्स वायुसेनाले एसएफ–२६० विमानको उडानमा रोक लगाएको छ । अनुसन्धान पूरा नभएसम्म ती विमान नउडाइने वायुसेनाले जनाएको छ ।

इटालीमा निर्मित एसएफ–२६० विमान पाइलटलाई उडान तालिम दिन प्रयोग गरिन्छ । फिलिपिन्सले सन् २०१० र २०११ को अवधिमा यस्ता १८ वटा विमान खरिद गरेको थियो ।
फिलिपिन्सले पछिल्लो समय आफ्नो सैन्य क्षमता आधुनिकीकरण गर्ने प्रयास गरिरहेको छ । तर, आवश्यक बजेट जुटाउन चुनौती भइरहेको छ । दक्षिण चीन सागरमा चीनसँग बढ्दो क्षेत्रीय तनावका कारण वायुसेनासहित नौसेना र थलसेनाको क्षमता विस्तारलाई पनि महत्त्व दिइएको छ ।






